मकवानपुरमा २ वटा अस्थायी मतदानस्थल, मतदाता ३ हजार ३ सय ७

जनपत्र
९ फाल्गुन २०८२, शनिबार ०८:१८

हेटौंडा — यही फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरमा दुई वटा अस्थायी मतदानस्थल राखिएको छ । भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक/एक वटा मतदानस्थल रहने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालले बताए ।

यी मतदानस्थलका लागि मतदाता ३ हजार ३०७ रहेका छन् । भीमफेदी कारागारमा महिला र पुरुष गरेर ९ सय ९५ जना कैदीबन्दी छन् । तर मतदाता नामावलीमा ७५ जनाको मात्र नाम छ । ३ जना महिला र ७२ जना पुरुष मतदाता रहेका छन् । अरु कैदीबन्दीहरुको मतदाता सूचीमा नाम नै छैन । निर्वाचन कार्यालयले मतदाता सूचीमा नाम टिपाउन कारागार कर्मचारी नपठाएकाले अन्य कैदीबन्दीहरुको मतदाता नामावलीमा नाम नभएको कारागारका एक कर्मचारीले वताए । अस्थायी मतदानस्थलका मतदाताहरुले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउँछन् ।

अस्थायी मतदान केन्द्रबाहेक मकवानपुरमा १६७ वटा मतदानस्थल रहेका छन् । ती मध्ये सुरक्षाको दृष्टिकोणले १९ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितीको बैठकले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखेको हो  ।

जिल्लाभर रहेका  १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन् ।

सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् । यसैगरी राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा जिल्ला सुरक्षा समिति मकवानपुरले राखेको छ ।

यसैगरी जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् ।

संवेदनशील मतदान स्थलहरुमा हेटौंडा उपमहानगरपालिकाका ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदान स्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदान स्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् ।  कान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*