मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चार वटै सुरक्षा निकाय परिचालन, सबै पालिकामा सुरक्षा टोली पुग्यो
हेटौंडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै चार वटै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रका मतदान स्थल वरपर तथा दश वटै स्थानीय तहमा सुरक्षा निकायको उपस्थिति सुनिश्चित गरिएको हो ।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र निर्वाचन प्रहरी (म्यादी) टोली जिल्लाका सबै निकायमा खटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । यससँगै मतदान केन्द्र आसपास सुरक्षा निगरानी बढाइएको छ भने सबै पालिकामा सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।
प्रत्येक मतदान केन्द्रमा भने निर्वाचन कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेपछि मतपेटिका सहित सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको उनले बताए ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरीलाई समेत जिम्मेवारी क्षेत्रमा खटाइएको छ । चारै निकाय संयुक्त रूपमा परिचालन भएका छन् । मतदान केन्द्रको सुरक्षा अवस्था, पूर्वतयारी, गस्ती, पेट्रोलिङ तथा पिकेट जाँच कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक श्यामबहादुर खत्रीले बताए ।
निर्वाचनको सुरक्षाको विषयमा अहिले पनि सुरक्षा निकायको सबै टोलि कैलाश गाउँपालिकामा पुगेको एसपी खत्रीले बताए । त्यहाँका प्रत्यक मतदान स्थलको संबेदनशिल भएकाले पनि निर्वाचन अधिकृत सहितको टोलिले अनुगमन गरिएको उनले बताए ।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारको सुरक्षा, राजनीतिक गतिविधि तथा मतदान केन्द्रको पूर्वाधार सुरक्षामा विशेष ध्यान दिइएको छ । आवश्यक सवारीसाधन, हतियार तथा बन्दोबस्ती सहित सुरक्षा तयारी पूरा गरिएको जनाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैबीच वडा तहसम्म समन्वय गर्न एकीकृत संयन्त्र गठन गरिएको छ । राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, निजी क्षेत्र तथा स्थानीय अगुवालाई समेट्दै देशभरका वडा तहसम्म सहकार्य संरचना बनाइएको छ । जिल्ला सुरक्षा समितिले सो संयन्त्रसँग समन्वय गर्दै निर्वाचनप्रति जिम्मेवारी र अपनत्व बढाउने काम गर्नेछ ।
जिल्ला सुरक्षा समितिमार्फत शान्तिसुरक्षा कायम गर्ने, जनशक्ति परिचालन गर्ने, निर्वाचनसम्बन्धी कानुन कार्यान्वयन गर्ने तथा आचारसंहिताको पालना गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।







