भैसें र नामटारमा राप्रपाका थोकरको भेटघाट

जनपत्र
२८ माघ २०८२, मंगलवार ०८:४०

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका रामबहादुर थोकर यतिबेला सशक्त र तीव्र चुनावी अभियानमा सक्रिय देखिएका छन् । उम्मेदवारी दर्ता गरेसँगै उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने, आफ्ना राजनीतिक विचार र प्रतिबद्धता स्पष्ट रूपमा राख्ने तथा मत माग्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाएका छन् । मतदातासँग प्रत्यक्ष संवादमार्फत विश्वास जित्ने रणनीतिअनुसार थोकर गाउँ–बस्ती, टोल र सार्वजनिक स्थलहरूमा पुगेर नागरिकसँग भलाकुसारी गरिरहेका छन् ।

यसैक्रममा सोमबार उनले मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाको भैंसे र कैलाश गाउँपालिकाको नामटारका विभिन्न स्थानहरूमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । ती स्थानहरूमा उनले स्थानीयको दैनिक जीवन, समस्या र आवश्यकताबारे बुझ्दै आफ्ना योजना र राजनीतिक दृष्टिकोण राखेका थिए । जनताको आवाज सुन्ने र उनीहरूको अपेक्षालाई राजनीतिक एजेन्डामा रूपान्तरण गर्ने आफ्नो प्रयासको निरन्तरताका रूपमा यी भेटघाटहरूलाई लिइएको छ ।

त्यस्तै, राक्सिराङ गाउँपालिका–४ र राक्सिराङ गाउँपालिका–६ का ग्रामीण क्षेत्रहरूमा राप्रपाका उम्मेदवार रामबहादुर थोकरलाई मत माग्ने उद्देश्यसहित पार्टीका बागमती प्रदेश सदस्य खुशी कार्कीको नेतृत्वमा टोली सक्रिय भएको बताइएको छ । टोलीले ग्रामीण बस्तीमा पुगेर राप्रपाको नीति, सिद्धान्त र चुनावी एजेन्डाबारे जानकारी गराउँदै थोकरलाई समर्थन गर्न आग्रह गरेको थियो ।

चुनावी अभियानकै सिलसिलामा आइतबार थोकर हेटौँडा उपमहानगरपालिका–३, बसामाडीस्थित बसाहा मन्दिर परिसरमा पुगेका थिए । त्यहाँ उनले स्थानीय नागरिकसँग भेटघाट मात्र गरेनन्, उनीहरूका पीडा, गुनासा र अपेक्षालाई ध्यानपूर्वक सुने । धार्मिक स्थलमा उनको उपस्थिति संयोग मात्र नभई राप्रपाको दीर्घकालीन राजनीतिक धारणा र प्रतिबद्धताको सन्देश बोकेको थियो । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित वर्षौंदेखि आवाज उठाउँदै आएको राप्रपाको विचारलाई व्यवहारिक रूपमा प्रस्तुत गर्दै उनी मन्दिर परिसरमा मतदातासँग संवादमा उत्रिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*