मकवानपुरका दुई निर्वाचन क्षेत्रका नौ वटा पालिकाका मतदान स्थलको अनुगमन

जनपत्र
२८ माघ २०८२, मंगलवार ०८:२४

हेटौंडा । मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रअन्तर्गतका नौ वटा स्थानीय तहका मतदान स्थलको अनुगमन गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन कार्यालयका अधिकृत, सुरक्षा निकायका प्रमुखहरू सहितको संयुक्त टोलीले मतदान स्थलहरूको स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीले हालसम्म हेटौंडा उपमहानगरपालिका सहित थाहा नगरपालिका, मकवानपुरगढी, बागमती, भिमफेदी, राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउँपालिकाका मतदान स्थलहरूको निरीक्षण गरिसकेको जनाएको छ । अनुगमनका क्रममा मतदान स्थलको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन, पहुँच मार्ग, मतदान कक्षको व्यवस्थापन लगायतका विषयमा ध्यान दिइएको थियो ।

निर्वाचनमा जिल्लाका नौ वटा पालिकाको अनुगमन गरिसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । जिल्लामा भौगोलिक विकटताको समस्या थोरै मतदान स्थलमा रहेपनि त्यस्तो समस्या नरहेको उहाँले बताउनुभयो ।

निर्वाचनलाई लक्षित गरेर जिल्लाका धेरै पालिकाका मतदान स्थलको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । भौगोलिक विकटताको धेरै क्षेत्र भएपनि सञ्चार सम्पर्क सबै स्थानमा रहेको र भीमफेदीको एउटा मतदान स्थलमा मात्र यातायातको पहुँच नभएकाले हिडेर पुग्नुपर्ने समस्या भएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अब जिल्लाको उत्तरी क्षेत्रअन्तर्गत पर्ने  इन्द्रसरोवर गाउँपालिकाका मतदान स्थलहरूको समेत अनुगमन गरिने तयारी छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र सुरक्षित ढंगले सम्पन्न गर्न आवश्यक पूर्वतयारीका रूपमा यो अनुगमन गरिएको जनाइएको छ ।

मकवानपुरमा रहेका अति संवेदनशील, र सवेदनशील मतदानस्थलमा जिल्ला सुरक्षा समितिले स्थलगत निरीक्षण गरिएको हो । मतदान स्थलगत निरीक्षणको क्रममा स्थानीय र पालिकाका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने काम पनि भइरहेको छ ।

जिल्लाका दुइ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान प्रमुख र प्रदेश निर्वाचन कार्यालयका प्रमुख स्थलगत निरीक्षणको क्रममा जिल्लाका विभिन्न भागमा पुग्ने गरेका छन् । निरीक्षणको क्रममा निर्वाचनको समयमा आउन सक्ने चुनौती, मतपेटिका, मतपत्र ढुवानीका लागि भौगोलिक अवस्थिति र सुरक्षा व्यवस्थाको बारेमा स्थानीयसँग छलफल गरेका थिए ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा १६७ वटा मतदानस्थल छन् । तीमध्ये सुरक्षाको दृष्टिकोणले १९ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० मध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखेको हो ।

जिल्लाभर रहेका मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र छन् ।

सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदानस्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् । यसैगरी राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल र १ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । हेटौंडा उपमहानगरपालिकाका ७ मतदानस्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदानस्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदानस्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदानस्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदानस्थल र १७ मतदान केन्द्र संवेदनशील सूचीमा रहेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका ४ मतदानस्थल र ७ मतदान केन्द्र, ईन्द्रसरोवर गाउँपालिकाका २ मतदानस्थल र २ मतदान केन्द्र, भीमफेदी गाउापालिकाका ४ मतदानस्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदानस्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा छन् । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*