म किसानको पीडा बोकेर संसद पुर्‍याउने भरिया हुँ–महेश बर्तौला

जनपत्र
२७ माघ २०८२, सोमबार १८:१६

​हेटौंडा । नेकपा (एमाले) का मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले आफूलाई किसानका समस्या र पीडा राज्यको नीति निर्माण तहसम्म पुर्‍याउने भरियाुको रूपमा चित्रण गर्नुभएको छ । निर्वाचन लक्षित कार्यक्रमका क्रममा सोमबार मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडाहरूमा मतदातासँग अन्तरक्रिया गर्दै बर्तौलाले यस्तो बताउनुभएको हो ।

आज बिहानैदेखि मकवानपुरगढी ५ र ६ का डुम्रेकुना, झल्ला, बुँदल, धादिङ, भालुखोला, बागदली र ज्यामिरे लगायतका क्षेत्रमा पुगेर उहाँले स्थानीयका समस्या सुन्नुका साथै आफ्नो भावी योजनाबारे प्रष्ट पार्नुभयो । बर्तौलाको भनाइलाई उदृत गर्दै एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले भन्नुभयो- बर्तौलाको अघिल्लो ३२ महिने कार्यकालमा संसद्‌मा मल, बीउ, तरकारीको उचित मूल्य, खसीबोकाको बजारीकरण र दुग्ध किसानको भुक्तानीका लागि पहिलो पटक र निरन्तर संसदमा आवाज उठाएको हो ।

​अन्तरक्रियाका क्रममा मकवानपुरगढी ६ का पूर्व वडा अध्यक्ष टीका दाहालले सामरी बस्तीको सुरक्षा, अस्पताल व्यवस्थापन र शीतभण्डार सञ्चालनमा बर्तौलाले आगामी दिनमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै, मकवानपुरगढी गाउँपालिकाको पुर्व अध्यक्ष विदुर हुमागाईँले सामरी पुलदेखि डुम्रेकुनासम्मको सडक पूर्वाधार निर्माणमा बर्तौलाको पहलको प्रशंसा गर्दै आगामी फागुन २१ गतेको निर्वाचनमा उहाँलाई जिताउन अपिल गर्नुभयो ।

अर्का स्थानीय नानीराम तिमल्सिनाले बर्तौला डबल मास्टर्सु र अधिवक्ता समेत रहेकाले कानुन निर्माणका लागि सबैभन्दा योग्य उम्मेदवार भएको दाबी गर्नुभयो । कार्यक्रममा समानुपातिक उम्मेदवार मेम्बर लो तामाङले आफ्नै जन्मभूमिबाट पार्टीले उम्मेदवार बनाएकोमा खुसी व्यक्त गर्दै मकवानपुरगढीको गौरव बढाउन सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।

भेटघाटकै क्रममा उम्मेदवार बर्तौलाले शिक्षा र पूर्वाधारको क्षेत्रमा आफूले गरेका कामहरूको विवरण समेत प्रस्तुत गर्नुभयो । उहाँले जाल्पा देवी माध्यमिक विद्यालयको भवन निर्माणका लागि १ करोड ६२ लाख, १७ करोडको मकवानपुरगढी बृहत् खानेपानी आयोजना र सरङ्गपुरमा १४ करोडको पक्की पुल निर्माण जस्ता ठुला योजनाहरू आफ्नै पहलमा अघि बढेको बताउनुभयो ।

आगामी दिनमा सामरी खोला तटबन्धन र अधुरा विकास निर्माणका कार्यहरूलाई पूर्णता दिने प्रतिबद्धता जनाउँदै उहाँले समग्र मकवानपुरगढीबासीलाई एमालेको पक्षमा मतदान गर्न अपिल गर्नुभयो । अभियानमा नवराज तिमल्सिना कमरेड आशिषु, भगवती पुडासैनी, रामजी सापकोटा, विष्णु सिलवाल लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*