बकैयाको धियालमा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार कार्यालय उद्घाटन

जनपत्र
२७ माघ २०८२, सोमबार १८:०८

बकैया । मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर–२ धियाल भमरामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ। मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमलाई विजयी गराउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

यसै क्रममा बकैया गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियान पनि सञ्चालन गरिएको छ। घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीले आफ्ना एजेन्डा र उम्मेदवारका प्रतिबद्धता प्रस्तुत गरेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बिजय गौतमले आफू यो क्षेत्रको विकास, अधिकार र पहिचानको पक्षमा दृढतापूर्वक उभिने बताए। उनले अव्यवस्थित बसोबास, धार्मिक तथा सामाजिक संरचनाको व्यवस्थापन, खेलमैदान, सडक पूर्वाधारलगायत स्थानीय आवश्यकता र प्राथमिकताका विषयहरूलाई क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। “यो चुनाव व्यक्तिगत जितको होइन, यो भूगोल र यहाँका जनताको अधिकारको जित हो,” उनले भने।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू धनप्रसाद गौतम, प्रमिला पुलामी, भिम पाख्रिन तथा बागमती प्रदेश कमिटी सदस्यहरू लक्ष्मी माझी, जीवन गोले, लोकनाथ गौतम, बोदनाथ देवकोटा, सुनिल खड्का, भक्तबहादुर खत्री, परशुराम गौतम, बकैया गाउँपालिका अध्यक्ष बिमल नेपाल र थ्ऋी मकवानपुर उपाध्यक्ष प्रेम लामा थिङ लगायतका नेताहरूले मन्तव्य राख्दै बिजय गौतमको उम्मेदवारीलाई ऐतिहासिक अवसरका रूपमा चित्रण गरे। उनीहरूले यस क्षेत्रको विकास र जनअधिकारको पक्षमा नेकपाको उम्मेदवारलाई जिताउन एकजुट हुन आग्रह गरे।

कार्यक्रमको अध्यक्षता नेकपाका नेता बोधबहादुर स्याङ्तानले गरेका थिए भने स्वागत मन्तव्य नेकपाका नेता रामप्रसाद पौडेलले राखेका थिए।

यसैगरी, बारा जिल्ला र मकवानपुर जिल्लाको सिमानामा पर्ने बकैया गाउँपालिका वडा नम्बर–६ खोबिल्टोमा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ। उक्त कार्यक्रममा वडाको तर्फबाट राजेन्द्र गोले, बाघ सिंह भोम्जन र नेकपा वडा नम्बर–६ कमिटी अध्यक्ष पुष्पराज भोलानले मन्तव्य राख्दै स्थानीयस्तरबाट चुनावी अभियानलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।

उम्मेदवार गौतमले खोबिल्टोमा समेत स्थानीयवासीका माग र समस्यालाई प्राथमिकतामा राखेर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए। पार्टीले आगामी दिनमा अभियानलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*