बकैया–९ कुसुमदमारमा नेकपाको चुनावी अभियान

जनपत्र
२६ माघ २०८२, आईतवार ०७:१४

मकवानपुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर–९ कुसुमदमार ९शिखरपुर० मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेकपा बकैया गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष इन्द्रबहादुर स्याङ्तानको अध्यक्षतामा तथा वडा सचिव कुलमान जिम्बाको सञ्चालनमा सम्पन्न भयो।

कार्यक्रममा नेकपा एमालेबाट स्थानीय निर्वाचनमा बकैया–९ का वडा सदस्य उम्मेदवार धनबहादुर भोम्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि कार्यक्रम थप उत्साहपूर्ण बनेको थियो। पार्टी प्रवेश गर्दै भोम्जनले देशलाई स्थायित्व, सुशासन र परिवर्तनको दिशामा लैजान सक्ने शक्ति नेकपा मात्रै भएको भन्दै अब नेकपा को तर्फबाट आफ्नो क्षेत्रको उम्मेदवार बिजय गौतमको जितका लागि गाउँ–गाउँ पुग्ने प्रतिबद्धता जनाए।

कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्षका रूपमा शहीद परिवारलाई सम्मान गरिएको थियो। शहीद सुनिताका दाइ सन्चबीर भोलन तथा शहीद अष्टबहादुर थिङकी श्रीमती पुतलीमाया थिङलाई सम्मान गर्दै वक्ताहरूले शहीदहरूको बलिदानकै कारण आजको राजनीतिक अधिकार सम्भव भएको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमले राजनीतिलाई केवल सत्ताको खेल होइन, जनताको जीवनसँग जोडिएको जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताए। उनले बकैया र आसपासका क्षेत्रमा विकास, रोजगारी र आधारभूत सेवाका विषयमा अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै, “यो चुनाव आश्वासनको होइन, कामको हिसाब–किताब गर्ने समय हो,” भने।

उनले थपे, “जनताले जसलाई रोज्छन्, उसले जनताकै बीचमा बसेर काम गर्नुपर्छ। म चुनाव जितेपछि पनि यहीँका समस्या लिएर यहीँका मानिससँगै उभिने छु।”

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी माझी ‘कृपा’, प्रदेश कमिटी सदस्य जीवन गोले, सुमन पाख्रिन, परशुराम गौतम, लोकनाथ गौतम, भक्तबहादुर खत्री, पार्टी नेता ठुलीमाया भोम्जन, बकैया गाउँपालिका संयोजक बिमल नेपाल, थ्ऋी मकवानपुर अध्यक्ष मुक्ति लामा, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याललगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले देशलाई अनिश्चितताबाट निकालेर स्थिरता र विकासको बाटोमा लैजान नेकपाको भूमिका निर्णायक हुने भन्दै, बिजय गौतमको जितलाई त्यसैको एउटा महत्वपूर्ण कडीका रूपमा व्याख्या गरे। उनीहरूले बकैया क्षेत्रमा देखिएको जनसमर्थनले चुनावी नतिजामा सकारात्मक संकेत दिएको दाबी पनि गरे।

कार्यक्रमले बकैया–९ मा नेकपाको संगठन विस्तारसँगै चुनावी अभियान थप सशक्त बन्दै गएको सन्देश दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*