मकवानपुरमा बुबा विदेशी भएका ५ जनाले पाए अङ्गीकृत नागरिकता

जनपत्र
२४ माघ २०८२, शुक्रबार १६:०६

मकवानपुर/ मकवानपुरमा आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्‌बाट स्वीकृत भई राजपत्रमा प्रकाशन भएपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट बुबा विदेशी भएका पाँच जनाले आमाको नामबाट अङ्गीकृत नागरिकता पाएका हुन्।

नागरिकता ऐनमा भएको संशोधनअनुसार हालसम्म नागरिकता प्राप्त गर्न आवश्यक कागजात पेस गरेका पाँच जनालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

हेटौँडा उपमहानगरपालिका-११ नवलपुरका तीन, हेटौँडा उपमहानगरपालिका-४ का एक र राक्सिराङ्ग गाउँपालिकाका एक गरी पाँच जनाले नागरिकता पाएका उनले बताए।

आमाको नेपाली नागरिकता भए पनि बुबा विदेशी हुँदा नागरिकता पाउन नसकेका ती पाँचै जना लामो समयदेखि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाइरहेका थिए।

नागरिकता ऐन संशोधन भएपछि उनीहरूलाई नागरिकता प्रदान गरिएको सहायक प्रजिअ जोशीले बताए।

उनका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन गरिएको हो।

बुबा विदेशी रहेको प्रमाणका आधारमा आमाको नामबाट नागरिकता दिन सकिने पछिल्लो नागरिकता निमवालीमा व्यवस्था भएअनुसार पाँचै जनालाई नागरिकता दिइएको सहायक प्रजिअ जोशीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*