उवेलाको रमाईलो दशैँ, अहिलेको के दशैँ

दशैमा नयाँ लुगाको रुपमा स्कुलको ड्रेस लगाउँदाको त्यतीवेला निकै खुसी भए । त्यतीवेला बगलीमा चिनी र चिउरा हालेर आफ्न्थतकहाँ टिका लगाएको क्षण कहिल्यै बिर्सदिन ।
हरि हुमागाईं
२१ आश्विन २०७६, मंगलवार ०७:५६

मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ मा रहेको नयाँ गाउँको डाँडाको बिचमा दुईतले घर । गोठमा तीन वटा भैसी । दशै आए लगतै सेतो कमेरो र रातो माटोले आमाले पोत्नु भएको सुन्दर घर । भईमा गोवर र माटोले लिपी सकेपछी बास्ना आउने भई । अनी गोठमा घाँसका भारीका चाँङ ।

दशैको फूलपातीकै दिनमा घरमा एक बोरा चिउरा, एक बोरा चामल र तीन केजी चिनी । बजारबाट बुवाले ल्याउनुभएको केराउको तरकारी । घरमै बस्ने बेन्च नजीकै घाँस बोक्ने नाम्लोले हालीएको पिङ । दशैमा मात्र मुखमा पर्ने चिउरा लुकी लुकी कचौरामा ल्याएर खाँदाको स्वादनै बेग्लै । दशै त्यसपछी दशैको सुरुवात हुन्थ्यो ।

स्कुलको ड्रेस नै दशैको नयाँ लुगा

दशैमा नया लुगा लगाउनका लागि बुबाले स्कुलको ड्रेस निलो सर्ट, हाफ पाईन्ट र रातो हात्तिछाप चपल घरमा भित्रयाएपछी दशैको ठुलै रौनकता आउँथ्यो । तिज सकिएपछी बुबालाई धेरै पटक भनेपछी दशैका लागि कपडा त दिदी, भाई र मलाई ल्याइएको थियो । तर, सिलाउन बाँकी ।

फेरी दशैको त्यो ड्रेसको कपडा नाप्न र सिलाउन बुबाले पठाएपछी डाँडाको कान्छादाई कहाँ गएर लगातार एक हप्ता बस्दा पनि भोलीत ठ्याक्कै सिलाउँछु भन्ने पुरानै बोली । हरेक दिन दशैका लुगा सिलाईयोकी भनेर गयो । कपडा ओल्टाई पल्टाई हेर्यो काटेकै हुदैनथ्यो । अर्को दिन गयो बल्ल आफ्नै अगाढी कपडा काटेर देखाउने अनी अर्कैको लुगा सिलाउने । अनी कान्छादाईले मिठो बोलीमा भोलीत डाडै झिलिमिली हुन्छ बावु भनेपछी हामी फुरुक्कै ।

धेरै दिन पछी बल्ल सिलाएको कपडा पनि बढ्ने मान्छेलाई भनेर ठुलो सर्ट, कम्बर ठुलो भएको हाफ पाईन्टमा सुतलीले कसेर लगाएर ठाटिएर नयाँगाउँबाट ज्यामिरे टिका लगाउन आउँदाको हर्षको दशैपो दशै त । नयाँ लुगा लगाएपछी जुन बेला पनि तल देखि माथी सम्म हेर्न मन लाग्ने । हर्षको सिमै थिएन ।

बगलीमा चिनी र चिउरा हालेर आफ्न्थतकहाँ टिका लगाएको क्षण

बुबा, आमाले घरका सबै काम धन्दा सकेर नयाँ गाउँदेखि एक घण्टाको बाटो हिडेर गढी ५ कै ज्यामिरेमा हजुरबा, हजुरआमाको हातमा टिका लगाउन आउँथ्यांै । हाम्रो हुमागाईं खलकका ६ भाई दाजुभाईका करिव दुई दर्जन छोरा छोरी सहित टिका टाला सुरु हुन्थ्यो । त्यतीबेला अरुको तुलनामा सबै भन्दा सिरानमा हाम्रै घर थियो । हामी अली ढिलो पुग्थ्यौं । टिकामा सबै जम्मा भएका हुन्थे ।

हामी पुग्नासाथ सबैले हामी पटीनै हेर्थे । मुसु मुसु हास्थे पनि । अनी म सोच्थे नयाँ लुगा लगाएको बेलामा त सबैले हेरी हाल्छन्नी भन्ने लाग्थ्यो । आफु पनि फेरी अरुले नदेख्नेगरी लगाएको नयाँ बास्नादार लुगा हेर्थे । सबैका नजर खाली हामीतिर किन भन्ने त्यतीबेला राम्रा लुगा लगाएर भन्ने हुन्थ्यो । तर, अहिले बल्ल थाहा भयो । स्कुल डे«सको कपडा लगाएरपो हामी तिर ध्यान तानिएको रहेछ । टिकाको दिनपछी बगलिभरी चिउरा र चिनी हालेर आफ्न्तकहाँ टिका लगाउन हिड्दाको दशैपो दशै ।

ल्यापटपबाट गुगलमा सर्च गरेर कपडा छान्ने दशै

इन्टरनेटले सबैलाई साघुरो घेरामा ल्याएको छ । थरी थरीका फेसन फिलीम र सिरीएलमा देखिन्छ । अनी त्यही लगाएको कपडाको नाम याद गर्दै गुगलमा सर्च गरेर दशैमा यो कपडा खरिद गर्ने हो भनेर जिद्दी गर्ने अहिलेका बालबालिका छन् । ती कपडा हेटौंडा बजारमा पाउँछ वा पाउँदैन भन्ने थाहा छैन । तर, त्यही कपडा चाहिन्छ भनेर छोरीको मागलाई सम्बोधन गर्न खोज्दा हेटौंडाका धेरै पसल चहानु पर्यो । आखिर उनीले भनेको कपडा पाइएन ।

अर्कै चलन चल्तीका दशै कपडाले छोरीले चित्त बुझाउनु पर्यो । पहिले स्कुल बिदा भएपछी दशैका लागि घासपातको जोहो गर्ने, दाउरा खोजी सक्ने । अहिले त बोडिङ बिदा भएको दिन देखि छोरा छोरी घुमाउन लैजानै पर्ने, बजार निस्केपछी थरीथरीका सामान खरिद गर्नै पर्ने, भनेको र रोजेको जती दशैका सामान खरिद गरिदियो घरमा पुग्यो फेरी ठस्स । फेरी भोलीपल्ट बजार ल्यायो सामान किनिदियो तै पनि चित्त बुझाउन सकिदैन । बोल्न तोते बोली बोल्ने चाहिन्छ ब्रान्डेड मोवाईल । खानाका लागि घरमा सामान टन्न हुन्छ होटल जानुपर्ने । कुनैकुराको अभाब छैन चित्त बुझाउन नसकिने, त्यसैले त अहिलेको दशै के दशै ।

अहिलेको दशै रक्सी नखाने र तास नखेल्नेले समय बिताउन कठिन

दशै सुरु भएपछी अफिसमा पाउने छुट्टी । घरका काम खासै नहुने । बिहान मन्दिर धाउनेका लर्को । दिउसो र साँझ साथीभाई र आफन्त मिलेर हातभरी तास र संगै रक्सीको चुस्कीमा समय बितको धेरैलाई पत्तै भएन । तर, दशै सुरु भएपछी मेरालागि समय बिताउने ठाउँनै भएन । तास र रक्सी नचल्ने भएपछी हरेक दिन बिताउ निकै समस्या भयो । रेडियो गयो टेक्नीसिएन मात्रै ।

बजार गयो दशै सुरु हुँदा कोलाहल, अस्टमी नवमी, सुनसान । घरमा बस्यो दिक्क । अभाव र समस्या नहुँदा पनि अहिले पहिलेको जस्तो न रमाइलो न हर्ष दशैमा । अरु बेलामा जस्तो केही फरक छ न त घरमा दशैका लागि भनेर जोहो गर्नुपर्ने समस्या । यस्तो दशै भन्दा बाल्यकालको दशै पो दशै ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*