ग्यास ढुवानीमा सधैँ सास्ती : हेटौँडामा खिया लाग्दै अर्बौंको लगानी

जनपत्र
२१ माघ २०८२, मंगलवार ०९:४२

हेटौँडा/ यतिबेला काठमाडौँ उपत्यकामा ग्यासको अभाव चर्किएको छ । बजारमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्ता सिलिन्डर बोकेर बालाजुस्थित नेपाल ग्यास उद्योगको कार्यालयमै लाइन लाग्न पुगेका छन् ।

नेपाल आयल निगमले बजारमा अन्य ब्रान्डको अभाव नभएको र नेपाल ग्यासको मात्र आन्तरिक समस्याले काठमाडौँमा केही असहजता भएको दाबी गरिरहँदा उद्योगीले भने समस्या गहिरिँदै गएको बताएका छन् । यो समस्याको तत्कालीन कारण भारतीय रिफाइनरीको समस्या र खपत बढी भनिए पनि यसको मुख्य जड भने नेपालको आफ्नै ग्यास ढुवानी संयन्त्र (बुलेट) नहुनु र भारतले नेपाली बुलेट सञ्चालनमा अनुमति नपाउनु रहेको पाइएको छ ।

  • ढुवानीमा परनिर्भर मुख्य कारक

नेपाली बजारमा ग्यासको आपूर्तिमा बारम्बार समस्या आउनुको मुख्य कारण ढुवानीका लागि शतप्रतिशत भारतीय बुलेटमाथिको निर्भरता नै देखिएको छ । भारतीय ढुवानीकर्ताहरूले नेपालमा ग्यास बोक्न हिचकिचाउँदा आपूर्ति चक्रमा अवरोध आउने गरेको छ ।

नेपालमा भन्दा भारतमै ढुवानी भाडा बढी पाउने भएपछि भारतीय बुलेटहरू नेपाल आउन नमान्ने गरेको ग्यास उद्योगी बताउँछन् । नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपालको पहाडी बाटोमा गाडी चलाउन गाह्रो हुने, मर्मत खर्च बढी लाग्ने र दुर्घटना हुँदा कानुनी झन्झट बेहोर्नुपर्ने कारण देखाउँदै भारतीय ढुवानीकर्ताहरू नेपालको रुटमा ढुवानी गर्न मान्दैनन् ।

ग्यास अभावको समस्यालाई स्थायी रूपमा समाधान गर्न नेपाली व्यवसायीहरूले करिब सात वर्षअघि आफ्नै ग्यास ढुवानी संयन्त्र तयार पार्ने प्रयास गरेका थिए । व्यवसायीले अर्बौं लगानी गरेर ग्यास ढुवानीका लागि बुलेट खरिद गर्ने प्रक्रिया अघि बढाए पनि भारतले अनुमति नदिँदा नेपालको आफ्नै बुलेट सञ्चालन गर्ने योजना वर्षौँदेखि अलपत्र परेको छ । घिमिरेका अनुसार, भारतले नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई आफ्ना रिफाइनरीबाट ग्यास बोक्न अनुमति नदिँनाले ग्यास ढुवानीमा सधैँजसो समस्या परेको बताउँछन् ।

  •  ७ वर्षदेखि खिया लाग्दै ‘नेपाली बुलेट’

उद्योगी घिमिरेका अनुसार करिब सात वर्षअघि नेपाल आयल निगमले ग्यास ढुवानीमा आत्मनिर्भर बन्न नेपाली व्यवसायीलाई प्रोत्साहन गरेको थियो । सोही अनुरुप निगमले नेपाली ग्यास बुलेट खरिदका लागि अन्य सवारी साधनको तुलनामा दुई तिहाइ भन्सार छुटको व्यवस्था समेत गरेको थियो ।

निगमको सोही नीति र प्रोत्साहनपछि हौसिएका ग्यास उद्योगीहरूले ७७५ वटा ग्यास बुलेट खरिदका लागि प्रक्रिया अघि बढाउँदै धरौटीसमेत राखेका थिए । त्यसमध्ये परीक्षणका लागि भन्दै दुईवटा बुलेट नेपाल ल्याइएको थियो ।

तर ती दुई बुलेट विगत ७ वर्षदेखि हेटौँडामा थन्किएर खिया लागिरहेको घिमिरेले गुनासो गरे । ‘हामीले नमुनाका रूपमा ल्याएका दुई बुलेट हेटौँडामा सडिरहेका छन्,’ घिमिरेले भने, ‘बाँकी ७७५ बुलेटको लगानी र प्रक्रिया भारतको अनुमति नपाउँदा अन्योल भयो । भारत सरकारसमक्ष नेपाल सरकार र निगमले आवश्यक पहल गर्न नसक्दा अर्बौंको लगानी जोखिममा पर्यो र हामी भारतीय बुलेटकै भर पर्न बाध्य भयौ ।’

आफ्नै बुलेट नहुँदा र भारतीय ट्रान्सपोर्टरकै भर पर्नुपर्दा अहिलेजस्तो समस्या बारम्बार दोहोरिने गरेको उनको तर्क छ ।

यता भारतीय पक्षले नेपाली बुलेटहरूको गुणस्तर र सुरक्षा मापदण्डमा प्रश्न उठाउँदै आफ्ना रिफाइनरी र डिपोमा प्रवेश गर्न रोक लगाएको निगमका एक अधिकारी दाबी गर्छन् ।

‘निगमले पेट्रोलियम ट्याङ्रजस्तै ग्यास बुलेट पनि नेपाली नै हुनुपर्छ भनेर पटक–पटक पहल गरे पनि भारतीय पक्ष सहमत भएको छैन,’ निगमका एक अधिकारीले भने, ‘तत्कालीन प्रधानमन्त्रीहरूको भारत भ्रमणका क्रममा नेपाली बुलेट सञ्चालनको विषय एजेन्डामा परेको थियो । तर, भारतीय पक्षले नेपाली बुलेटहरूको गुणस्तर र सुरक्षा मापदण्डमा प्रश्न उठाउँदै आफ्ना रिफाइनरी र डिपोमा प्रवेश अनुमति दिएन ।’

तर भारतीय बुलेट निर्माण गरेकै कारखानामा निर्माण भएका बुलेट आफूहरूले खरिद गरेकाले गुणस्तरमा प्रश्न उठाउन नमिल्ने बताउँछन् । साथै निगम आफूले भारतसँग आवश्यक पहल गर्न नसकेपछि बाहानाबाजि गरेको उनको भनाइ छ ।

घिमिरेका अनुसार हाल नेपालदेखि नजिकको दूरीमा रहेको भारतको बरौनी रिफाइनरीमा प्राविधिक समस्या आएको छ ।

बरौनीमा समस्या आएपछि ग्यास लिन टाढाको रिफाइनरीमा जानुपर्ने बाध्यता छ, जसले गर्दा ‘टर्न अराउन्ड टाइम’ (एक खेप ग्यास ल्याउन लाग्ने समय) बढेको छ । यही कारणले गर्दा बजारमा आपूर्तिको चक्र बिग्रिएर अभाव सिर्जना भएको बताए । यदि नेपालका आफ्नै बुलेट सञ्चालनमा रहेका भए र व्यवस्थापन नेपालकै हातमा भएको भए यस्ता समस्यामा आन्तरिक व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*