हेटौंडा । संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा स्थापित बागमती प्रदेशसभाले आइतबार आठौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा बोल्दै बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले लोकतन्त्र विचारको मन्थनबाट सशक्त हुने बताए ।
विविधताको बीच पनि संवाद, सहकार्य र संवैधानिक मर्यादा अपरिहार्य हुने उनको धारणा छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रदेशसभा सचिवालयको परिसर मै आयोजित बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले असहमति नै लोकतन्त्रको शक्ति भएको बताए ।
अवरोध र निर्णय बिहिनताको अवस्थामा लोकतन्त्रको कमजोर हुने उनको छ । लामो समयदेखि प्रदेशसभा बैठक नबसेको प्रति असन्तुष्टि जनाउँदै प्रदेश प्रमुख देवकोटाले प्रदेशसभालाई बन्धक बनाउँदा लोकतन्त्र प्रति नै अनादर हुने जिकिर गरे ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले गरेका निर्णयहरू निजामती कर्मचारीबाट कार्यान्वयनमा हिचकिचाहट देखिँदा काम गर्न गम्भीर समस्या उत्पन्न भएको बताएका छन् ।
प्रदेशसभाको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेशसभाका सदस्यहरूको स्वकीय सचिवलाई मासिक तलब उपलब्ध गराउने प्रदेश सरकारको निर्णय कर्मचारीकै कारण कार्यान्वयनमा आउन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे । संघीय सरकारको पत्र देखाउँदै प्रदेश सरकारका निर्णयलाई कर्मचारीहरूले बेवास्ता गर्ने गरेको उनको आरोप थियो ।
“कुनै पनि सरकार सफल वा असफल हुने भन्ने कुरा कर्मचारीहरूको भूमिकामा निर्भर रहन्छ,” मुख्यमन्त्री बानियाँले भने ।
उनले नेताहरूको बोली र व्यवहारमा देखिएको अन्तरले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको उल्लेख गर्दै निर्वाचनको कुनै विकल्प नभएकाले राजनीतिक दलसहित सबै क्षेत्र अब निर्वाचनमा होमिनुपर्ने बताए । “अब निर्वाचन हुन्छ कि हुँदैन भनेर शंका गर्ने बेला छैन,” उनले स्पष्ट पारे ।
उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, साविक एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मालगायतले प्रदेशसभा, संघीयता र समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखेका थिए । कार्यक्रममा ‘प्रदेशसभा दर्पण’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो ।
२०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको बागमती प्रदेशसभाले आठ वर्ष पूरा गरिसकेको छ । प्रदेश सरकार सञ्चालनका लागि आवश्यक मानिएका ९९ कानुनमध्ये हालसम्म ९० वटा विधेयक प्रदेशसभाबाट पारित भएका छन् । तीमध्ये ८९ वटा कानुन प्रदेश राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएका छन् । प्रदेश चिठ्ठा सम्बन्धी एक विधेयक भने संसद्बाट पारित भए पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण नपाउँदा कार्यान्वयनमा आउन सकेको छैन । उक्त विधेयक हाल पुनः प्रदेशसभामै विचाराधीन अवस्थामा रहेको सचिवालयले जनाएको छ । यसका अतिरिक्त तीन वटा विधेयक सभा, समिति र सचिवालय तहमा छलफलको चरणमा छन् ।
प्रदेशसभाले आठौं वार्षिकोत्सव मनाइरहँदा नीतिगत चुनौतीसँगै ठूलो भौतिक क्षतिसमेत व्यहोर्नुपरेको छ । २०८२ भदौ २३ र २४ गते भएको जेन (जी) आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा प्रदेशसभा संरचनामा ३२ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आफ्नै भवन प्रयोग गर्न नसक्ने अवस्थामा पुगेपछि हाल हेटौंडा उपमहानगरपालिकाको परिसरमा रहेको हलमा अस्थायी रूपमा प्रदेशसभाका बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । हलको सामान्य मर्मत गरी टेबल, कुर्सी, माइक तथा आवश्यक इलेक्ट्रोनिक्स सामग्री जडान गरेर सभा सञ्चालनको तयारी भइरहेको उपसभामुख चापागाईंले जानकारी दिइन् ।
सुरुआतमा ११० सदस्यीय रहेको बागमती प्रदेशसभामा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ६ जना सांसदले राजीनामा दिएपछि हाल प्रदेशसभामा १०४ जना सदस्य रहेका छन् ।







