नेकपाले मकवानपुरका दुवै क्षेत्रमा युवा उम्मेदवार उठायो : रामनारायण विडारी

जनपत्र
१७ माघ २०८२, शुक्रबार ०८:४२

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा थाहा अभियानका अभियन्ता तथा पूर्व सांसद मकवानपुरका रामनारायण विडारीले नेकपाले यसपटक मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा युवा उम्मेदवारलाई अघि सारेको बताएका छन्।

जनपत्र डटकमसँगको कुराकानीमा विडारीले नेकपाले मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएको जानकारी दिए। उनका अनुसार विजय गौतम विद्यार्थी राजनीतिबाट पार्टीमा प्रवेश गरी राम्रो छवि बनाएका नेता हुन् भने लवशेर विष्ट पनि युवामाझ लोकप्रिय र सक्रिय उम्मेदवार हुन्।

जेन–जी आन्दोलनपछि धेरै राजनीतिक दलहरूले युवा उम्मेदवार उठाएको उल्लेख गर्दै विडारीले नेकपाले पनि ५० प्रतिशतभन्दा बढी युवा उम्मेदवारलाई अवसर दिएको दाबी गरे। “यो चुनावमा तडपभडक गर्नुभन्दा राजनीतिक संस्कार र एजेन्डामा आधारित प्रतिस्पर्धा आवश्यक छ,” उनले भने, “देशभर करिब ५० प्रतिशत नयाँ उम्मेदवार छन्। पुराना नेता पनि छन् तर नयाँको संख्या उल्लेख्य छ।”

उनले चुनावी माहोलबारे टिप्पणी गर्दै होहल्ला र प्रचार एकातिर भए पनि नतिजा अर्कै आउन सक्ने बताए। “कहिले काँही धेरै हल्ला गर्नेले चुनाव जित्दैन, चुपचाप काम गर्नेले जित्ने अवस्था पनि हुन्छ,” विडारीको भनाइ छ।

सामाजिक सञ्जालका कारण निर्वाचनमा समस्या देखिएको भन्दै उनले फेक न्युजको प्रभाव बढेकोप्रति चिन्ता व्यक्त गरे। “सामाजिक सञ्जालमा गलत सूचना फैलिँदा चुनावी वातावरण बिग्रिएको छ,” उनले भने।

कुराकानीकै क्रममा विडारीले पार्टीले आफूलाई मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्न प्रस्ताव गरे पनि आफू उम्मेदवार नबनी लवशेर विष्टलाई समर्थन गर्ने निर्णय गरेको स्पष्ट पारे। जेन–जी आन्दोलनका क्रममा आफ्नो गाडी, घर तथा अन्य सम्पत्ति जलेपछि व्यक्तिगत रूपमा समस्यामा परेको र त्यसै कारण उम्मेदवारी नदिएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*