नेपथ्य यात्राः पहिलो चरणमा माघ २१ गते हेटौंडामा

जनपत्र
१६ माघ २०८२, बिहीबार ०८:३६

हेटौँडा/ प्रेमिल अनि आसन्न चुनावले गर्दा राजनीतिक रंगमा घोलिन लागेको यो फेब्रुअरीमा लोक रक ब्यान्ड नेपथ्य गुञ्जिने भएको छ। यो वर्ष दुईपटक गरेर स्वदेश यात्रा तय गर्न लागेको नेपथ्यले पहिलो चरण अन्तर्गत फेब्रुअरी चार तारिख (माघ २१ गते) देखि चार सहरमा कन्सर्ट गर्दैछ।

यात्राको सुरुवात २१ गते बुधबारको साँझ हेटौँडाबाट हुनेछ। सहरको मध्यभागमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रांगणमा यो सिजनकै पहिलो नेपथ्य कन्सर्ट आयोजित हुनेछ।

हेटौँडा पछिको प्रस्तुती भने बुटवलमा हुनेछ। ‘रोज डे’ अर्थात् गुलाफ आदान प्रदानको साँझ माघ २४ गते रामनगरस्थित ‘बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टर’मा ब्यान्डको प्रस्तुती रहनेछ। शनिबार समेत परेकाले बुटवल परपरका फराकिलो भेगलाई नेपथ्यले प्रेमिल मिलनको केन्द्र पनि तुल्याउने स्थानीय आयोजकको विश्वास छ।

त्यसपछिको सांगीतिक प्रस्तुती भने नारायणघाटमा रहनेछ। त्यहाँस्थित ‘क्याम्पा चौर’मा माघ २७ गते बेलुकी नेपथ्यका दर्शकहरुले संगीतमय साँझ अनुभव गर्नेछन्। यो फराकिलो मैदानमै तीन वर्षअघि पनि नेपथ्य प्रस्तुत भइसकेको छ।

यसरी हेटौंडा, बुटवल र नारायणघाट गरेर तीनवटै शहर तीन वर्षको अन्तरालपछि पुनः नेपथ्यलाई स्वागत गर्ने तयारीमा जुटेको हो ।

ब्यान्डको चौथो प्रस्तुती भने फेब्रुअरीको १४ तारिख अर्थात ‘भ्यालेन्टाइन्स डे’ मा छ। भ्यालेन्टाइन्स डेको रमाइलोमा आफुलाई डुबाइरहेको बेला नेपथ्य भने एउटा सुन्दर पहाडी नगरीमा गुञ्जिरहेको हुनेछ। पहिलोपटक नेपथ्य पुग्न लागेको त्यो नगरी हो बन्दीपुर । तलतिर पर्ने तनहुँ जिल्लाका अन्य बजारहरुमा आफूलाई बारम्बार प्रस्तुत गरिसकेको ब्यान्डले यसपटक भने श्रोताहरुलाई मास्तिर रहेको टुँडिखेलमा आकर्षित गर्ने योजना लिएको छ।

‘हामीले बारंबार आफुलाई प्रस्तुत गर्दैआएको तीनवटै शहरबाट सदैव आत्मीय माया पाउँदै आएका छौं र त्यताका दर्शकहरुसँग फेरि पनि भेट्न आतुर छु,’ ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘भिडभाडभन्दा परको चिटिक्क पहाडी बस्ती बन्दीपुरमा धेरैपटक पर्यटक भएर पुगेको मलाई यसपाला गायकको रुपमा पाइला राख्ने नयाँ अनुभवले हौस्याइरहेको छ।’

गुरुङका अनुसार यो सुन्दर नगरीमा बसेकै बेला उनले लेखेका शब्दहरुलाई पनि ब्यान्डले गाउँदै आएको छ।

कन्सर्टहरुलाई व्यवस्थित रुपमा सम्पन्न गर्न हेटौंडामा ‘रमाइलो इभेन्ट्स्’, बुटवलमा ‘ब्याकअप इभेन्ट म्यानेजमेन्ट’, नारायणघाटमा ‘नेपाल डायरीज’ र बन्दीपुरमा ‘खड्गदेवी बन्दीपुर युथ क्लब’ले स्थानीय आयोजकको दायित्व सम्हालेका छन्।

घोषणा लगत्तै टिकट काट्ने दर्शकहरुका निम्ति राखिएको सहुलियत दरका ‘अर्लि बर्ड टिकेट’ हरुमध्ये बुटवल, नारायणघाट र बन्दीपुरको कोटा समाप्त भइसकेको जानकारी स्थानीय आयोजकहरुले दिएका छन्। यि सबै स्थानहरुमा विद्यार्थी लगायत विशेष समुहको निम्ति पनि सहुलियत दरका बेग्लै टिकट राखिएका छन्। सीमित मात्रामा राखिएका त्यस्ता टिकटहरु धमाधम सकिन लागेको जानकारी पनि उनीहरुले दिइरहेका छन्।

‘विश्वका ठूला सहरदेखि नेपालको सानो पहाडी बस्तीसम्म हेर्न आउने श्रोताहरुले नेपथ्यको स्वादमा एकरुपता पाउन् भनेर हामीले विशेष ध्यान दिँदैआएका छौं,’ ब्यान्डलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि यो गुणस्तरलाई कायम राख्न मानवीयदेखि लिएर प्रविधिसम्मका उच्चतम सेवा प्रयोगमा ल्याइनेछ।’

यसरी पहिलो चरणमा चार शहरको प्रस्तुतीपछि नेपथ्यको यसवर्ष तोकिएको स्वदेश यात्रा दोश्रो खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिने ब्यान्डले जनाएको छ।

यि सबै कन्सर्टहरुमा गायक अमृतलाई सदा झैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*