आईचर गाडी मकवानपुरको इन्द्रसरोवर तालमा खस्यो
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर बोकेको आईचर गाडी इन्द्रसरोवर तालमा खसेको छ।
कंलकीबाट मार्खुतर्फ आउँदै गरेको बा ३ ख ३९५४ नम्बरको आईचर गाडी पानी झार्ने क्रममा अचानक अगाडि बढ्न गई सडकबाट करिब १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको हो।
घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट मार्खु, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपेश यादवको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। हाल आईचर गाडी तालको पानीमा डुबेर बाहिर नदेखिने अवस्थामा रहेको र निकाल्ने कार्यका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनास्थल अस्थायी प्रहरी पोस्ट मार्खुबाट करिब ७ सय मिटर पूर्वतर्फ पर्दछ।







