मकवानपुरबाट १२१ केजी चरेससहित दुई जना पक्राउ
हेटौंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका–१०, टौखेलस्थित टौखेलबाट मार्खुतर्फ जाँदै गरेको अटोबाट ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरिएको छ।
लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ तथा चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले बा प्र ०३–००१ ह १५०७ नम्बरको अटो चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा अटोभित्र १२ वटा रबरका डिब्बामा लुकाइ–छिपाइ राखिएको चरेस १२१ केजी ४६ ग्राम परेको प्रहरीले जनाएको छ।
प्रहरीले अटो चालक थाहा नगरपालिका–४, रुप्से निवासी २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका–५ निवासी २१ वर्षीय सानुकान्छा थिङलाई नियन्त्रणमा लिएको छ। बरामद लागूऔषधसहित अटो समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए ।
पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।







