नेकपाका तर्फबाट मकवानपुर–१ मा गौतम र २ मा विष्टले उम्मेदवारी दर्ता गराए

जनपत्र
७ माघ २०८२, मंगलवार १८:०७

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी नेकपा ले मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउँदै दुवैले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेकपाले मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएको हो ।

मकवानपुर–१ का उम्मेदवार गौतम पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् । विद्यार्थी राजनीति र आन्दोलनबाट उदाएका गौतम नेकपा नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा स्वकीय सचिवका रूपमा कार्यरत थिए ।

बकैया गाउँपालिका निवासी गौतम तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्जसमेत रहिसकेका छन् । पछिल्लो समय उनी जिल्लाको राजनीतिमा सक्रिय देखिँदै आएका छन् ।

मकवानपुर–१ मा यसअघि तत्कालीन माओवादी केन्द्रबाट प्रेमबहादुर पुलामी ‘छिन्तु’ उम्मेदवार बनेका थिए । गठबन्धनका कारण २०७४ मा एमालेका कृष्ण दाहाल र २०७९ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई समर्थन गरिएको थियो । यस क्षेत्रमा नेकपाको संगठनात्मक उपस्थिति बागमती र बकैया गाउँपालिकामा राम्रो देखिन्छ भने हेटौंडा बजार क्षेत्रमा केही कमजोर रहेको बताइन्छ ।

यता मकवानपुर–२ मा उम्मेदवार बनेका विष्ट रुपचन्द्र विष्ट ‘रुदाने’का अनुयायीका रूपमा चिनिन्छन् । उनी २०७४ सालमा थाहा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । २०७९ सालमा कुनै पनि पदमा नउठेका विष्ट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । मेयर रहँदा उनले गरेको विकास निर्माण र सेवाप्रवाहसम्बन्धी कामको चर्चा अहिले पनि जिल्लामा हुने गरेको छ ।

उनको कार्यकालमा थाहा नगरपालिका विकास र सुशासनका हिसाबले उत्कृष्ट मानिएको थियो । मकवानपुर–२ अन्तर्गत थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा नेकपाको उपस्थिति बलियो मानिन्छ । मनहरी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा भने पार्टीको प्रभाव तुलनात्मक रूपमा कमजोर देखिन्छ । नेकपाका दुवै उम्मेदवारले आ–आफ्ना निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराइसकेको पार्टीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*