कांग्रेसका तर्फबाट मकवानपुरमा उपाध्याय र लामाले गरे उम्मेदवारी दर्ता

जनपत्र
७ माघ २०८२, मंगलवार १७:५१

हेटौंडा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। कांग्रेसले यसपटक जनजाति र महिलालाई प्राथमिकता दिँदै उम्मेदवार अघि सारेको छ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन्। कांग्रेसको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएकी डिना यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन्। पार्टी संगठन सुदृढीकरण, महिला अधिकार र समावेशी लोकतन्त्रका विषयमा निरन्तर आवाज उठाउँदै आएकी डिनालाई कांग्रेसले पुनः विश्वास गरेर उम्मेदवार बनाएको हो।

त्यस्तै, मकवानपुर क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि पार्टी संगठनमा क्रियाशील रहँदै आएका लामा स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव भएका नेता मानिन्छन्। पार्टीभित्र संगठन विस्तार, जनसम्पर्क र आन्दोलनका क्रममा देखाएको सक्रियताका आधारमा कांग्रेसले उनलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको बताइएको छ।

नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा भेला भई र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो। निर्वाचन अधिकृतको कार्यालयले ठूला दलहरूलाई पालैपालो समय तोकेर उम्मेदवारी दर्ता गराउने व्यवस्था मिलाएको थियो। सोही कार्यतालिकाअनुसार कांग्रेसका उम्मेदवारहरूले निर्धारित समयमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*