मकवानपुरको बाघझोरामा पुल निर्माणका लागि १० करोड स्रोत सुनिश्चित, प्राविधिक अध्ययनपछि छिट्टै ठेक्का प्रक्रिया
हेटौंडा । त्रिभुवन राजमार्ग अन्तर्गत भैँसे–हेटौंडा सडक खण्डमा पर्ने मकवानपुरको भीमफेदी गाउँपालिकामा पर्ने बाघझोरा खहरे खोलाका कारण वर्षेनी यात्रुहरूले भोग्दै आएको दीर्घकालीन समस्याको समाधानका लागि पुल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ। मकवानपुर क्षेत्र नम्बर–२ का निवर्तमान सांसद तथा नेकपा (एमाले) का तत्कालिन मुख्य सचेतक महेश कुमार बतौलाको पहलमा यस आयोजनाका लागि प्रारम्भिक रूपमा १० करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित गरिएको हो।
बाघझोरा खहरे खोलामा थोरै वर्षा हुँदा पनि खहरे बाढी आएर घण्टौँसम्म सडक अवरुद्ध हुने समस्या लामो समयदेखि रहँदै आएको थियो। यसले त्रिभुवन राजमार्ग भएर दैनिक आवतजावत गर्ने हजारौँ यात्रु, सवारी चालक तथा ढुवानी व्यवसायीलाई ठूलो सास्ती हुँदै आएको थियो।
निवर्तमान सांसद बतौलाले प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा रहँदा उक्त समस्याको दीर्घकालीन समाधानका लागि ओभरपास वा अण्डरपास कुन उपयुक्त हुने भन्ने विषयमा प्राविधिक अध्ययनसहित काम अघि बढाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालसमक्ष विशेष माग राखेका थिए। प्रतिनिधिसभा विघटनपछि पनि निरन्तर समन्वय र सहजीकरण गर्दै आएको बतौलाले बाघझोरा खोलामा पुल निर्माणका लागि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रारम्भिक रूपमा १० करोड रुपैयाँ स्रोत व्यवस्थापन हुन सफल भएको जानकारी दिएका छन्।
उनका अनुसार अब केही हप्ताभित्रै आवश्यक प्राविधिक अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन ठेक्का प्रक्रिया समेत सुरु गरिने तयारी भइरहेको छ। पुल निर्माण सम्पन्न भएपछि त्रिभुवन राजमार्ग भएर देशका विभिन्न भागतर्फ यात्रा गर्ने यात्रुहरूलाई सहजता हुने र वर्षायाममा बारम्बार सडक बन्द हुने समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास लिइएको छ।
यस कार्यका लागि सकारात्मक सहयोग पुर्याउने सम्पूर्ण मकवानपुरबासीप्रति आभार व्यक्त गर्दै बतौलाले पुल निर्माणले क्षेत्रीय मात्र नभई राष्ट्रिय स्तरमै आवागमनलाई सहज बनाउने उल्लेख गरेका छन्। बाघझोरा खहरे खोलामा बन्ने पुलले त्रिभुवन राजमार्गको यो संवेदनशील खण्डलाई सुरक्षित र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।







