हेटौंडाको सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती बिबिध कार्यक्रम गरेर मनाइदै

जनपत्र
२९ पुष २०८२, मंगलवार १६:४३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२, मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती कार्यक्रम आयोजना गरेको छ। विद्यालयले बिबिध कार्यक्रम गर्दै आएको र अझ माघ २ गतेदेखि ८ गतेसम्म विविध शैक्षिक, सामाजिक, स्वास्थ्य तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण जयन्ती समारोह मनाउन लागेको हो। आज बिद्यालयले पत्रकार सम्मेलनको आयोजना गरेर यसका बारेमा जानकारी दिएको हो ।

स्वर्ण जयन्ती समारोहअन्तर्गत विद्यालयले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै पुष २४ र २५ गते हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ। त्यसैगरी पुष २८ गते विद्यार्थी लक्षित दन्त परीक्षण शिविर सम्पन्न गरेको विद्यालयले जनाएको छ।

महोत्सवको तयारी स्वरूप माघ २ गते विद्यालय परिसर सरसफाइ तथा रङ्गरोगन गरिनेछ। माघ ३ गते बिहान ७ बजे रक्तदान कार्यक्रम तथा बिहान १०ः३० बजेदेखि शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरिने बिद्यालयका प्रधानध्यापक परमानन्द सरोज कर्णले बताए ।

माघ ४ गते बिहान १० बजेदेखि झाँकी र्यालीसहित महोत्सवको औपचारिक उद्घाटन गरिने कार्यक्रम छ। सोही दिन स्वर्ण स्तम्भ अनावरण, स्मारिका लोकार्पण, विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान, शैक्षिक तथा अन्य प्रदर्शनीहरू सञ्चालन गरिनेछ। उक्त समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

माघ ५ गते बिहान ७ः३० बजे पूर्व विद्यार्थी भेला तथा बिहान १० बजेदेखि विद्यालयका विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ। यस दिन बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहने बिद्यालयका शिक्षक गणेश प्रसाद हुमागाईले बताए ।

त्यसैगरी माघ ६ गते बिहान ११ बजेदेखि नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरू आयोजना गरिनेछ, जसमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथि रहनेछन्।

महोत्सवमा माघ ७ गते बिहान ११ बजेदेखि विद्यालयको बृहत् सांस्कृतिक कार्यक्रम तथा शैक्षिक एवं खेलकुद पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा सहभागी हुने विद्यालयले जनाएको छ।
यसैगरी कार्यक्रमको समापन माघ ८ गते हुने छ । यस कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा रहेको बिद्यालयका स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक तथा हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले बताए ।

सिद्धार्थ माध्यमिक विद्यालय विक्रम सम्वत् २०३२ साल माघ ८ गते सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा जगन्नाथ पराजुली र डा वैद्यनाथ भट्टज्यूको घरमा स्थापना भई सञ्चालनमा आएको हो। विद्यालयका पहिलो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय गोपालदास श्रेष्ठ तथा पहिलो प्रधानाध्यापक स्वर्गीय श्यामप्रसाद पराजुली रहनुभएको थियो।

विद्यालयले २०४० सालमा माध्यमिक तह सञ्चालनको स्वीकृति प्राप्त गरी २०४३ सालदेखि प्रवेशिका परीक्षामा सहभागिता जनाउँदै आएको छ। विद्यालयको भौतिक पूर्वाधार विकासमा स्वर्गीय ईश्वरचन्द्र अग्रवाल र रुद्रप्रसाद पाठकले निजी खर्चमा कक्षा कोठा निर्माण गरी महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

नेपालायको नेपथ्य समूहले वरिष्ठ गायक अमृत गुरुङमार्फत वार्षिक च्यारिटी शो आयोजना गरी संकलित रकम विद्यालयलाई प्रदान गर्दै शैक्षिक तथा भौतिक उन्नयनमा सहयोग पुर्‍याउँदै आएको विद्यालयले जनाएको छ।

विक्रम सम्वत् २०६४ मा जिल्लाकै एकमात्र खुला विद्यालय (कक्षा १०) सञ्चालनको अवसर प्राप्त गरेको यस विद्यालयले २०६५ सालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ सञ्चालनको स्वीकृति पाएको थियो। हाल विद्यालयमा कानुन, व्यवस्थापन र शिक्षा समूहमा विहानी सत्रमा पठनपाठन हुँदै आएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*