हेटौंडामा वन्यजन्तु कानुन तथा अपराधसम्बन्धी न्यायिक कार्यशाला
हेटौंडा / न्यायाधीश र सरकारी वकिलहरूका लागि ‘वन्यजन्तु कानुन तथा अपराधसम्बन्धी न्यायिक कार्यशाला’ हेटौंडामा जारी छ ।
शुक्रबारदेखि सुरु भएको चारदिने कार्यशाला दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (एसएडब्लुईएन) र न्यायाधीश समाज, नेपालको संयुक्त आयोजनामा हेटौंडामा जारी छ ।
कार्यशालाको उद्देश्य नेपालमा वन्यजन्तु अपराधलाई प्रभावकारी रूपमा सम्बोधन गर्न न्यायाधीश र सरकारी वकिलहरूको क्षमता अभिवृद्धि गर्नु रहेको बताइएको छ ।
कार्यक्रममा नेपालका विभिन्न अदालत र न्यायालयका साथै प्रकृति तथा वातावरण संरक्षण संस्थासँग जोडिएका प्रतिनिधिहरूसहित ६५ जना सहभागी छन् ।
कार्यशालाका उद्देश्यमाथि प्रकाश पार्दै एसएडब्लुईएनका महासचिव डा. कृष्णप्रसाद आचार्यले वन्यजन्तु अपराधको बढ्दो जटिलता र वन्यजन्तु तस्करी नियन्त्रणमा सूचित न्यायिक तथा अभियोजनात्मक प्रतिक्रियाको महत्त्वपूर्ण भूमिकामाथि जोड दिए ।
कार्यशालाका प्राविधिक सत्रहरूमा वन्यजन्तु तथा वन अपराधसम्बन्धी न्यायिक निर्णय र अभियोजनसँग सम्बन्धित विविध सैद्धान्तिक तथा व्यवहारिक विषय समेटिएका छन् । सत्रहरूमा वन्यजन्तु अपराध र जैविक विविधता संरक्षणप्रति न्यायिक दृष्टिकोण, राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, जिल्ला अदालत र उच्च अदालतबीचको अधिकार क्षेत्रगत चुनौती, तथा वन्यजन्तु व्यापारका विश्वव्यापी र राष्ट्रिय आयामहरूमा केन्द्रित छलफल हुने बताइएको छ ।
कार्यशालाले न्यायिक, अभियोजन तथा कार्यान्वयन निकायहरूबीचको समन्वय सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा काम गर्दै नेपालमा वन्यजन्तु अपराधविरुद्धको कानुनी प्रतिकारलाई अझ मजबुत बनाउन योगदान पुर्याउने बताइएको छ ।







