कुष्माण्ड सरोवर त्रिवेणी धाममा पितृउद्धारका लागि गरुड महापुराण वाचन हुँदै

जनपत्र
२६ पुष २०८२, शनिबार १८:४५

हेटौंडा — मकवानपुर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित कुष्माण्ड सरोवर त्रिवेणी धाममा यस वर्ष पितृउद्धारको उद्देश्यसहित १ महिने गरुड महापुराण वाचन हुने भएको छ। धार्मिक आस्था, संस्कार र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कुष्माण्ड सरोवर त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेका अनुसार हरेक वर्ष माघ महिनाभर फरक–फरक पुराण वाचन हुदै आएकोमा यस वर्ष पितृउद्धारको उद्देश्यसहित १ महिने गरुड महापुराण वाचन हुने छ । सनातन धर्मअनुसार पितृमोक्ष, आत्मशान्ति तथा धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष गरुड महापुराण वाचन गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

यस वर्ष आयोजना हुने गरुड महापुराण वाचन पण्डित गोपाल चालिसे, जिबराज बख्रेल र यदु अधिकारीबाट हुने जनाइको छ। गरुड महापुराणमा वर्णित पितृलोक, कर्मफल, मृत्यु उपरान्तको यात्रा र आत्ममोक्ष सम्बन्धी ज्ञानले श्रद्धालुहरूमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै पितृप्रतिको कर्तव्यबोध गराउने विश्वास गरिएको छ।

कार्यक्रमको अवधिभर दैनिक रूपमा पूजा–अर्चना, गरुड महापुराण पाठ, प्रवचन, भजन–कीर्तन, श्राद्ध, तर्पण तथा अन्य वैदिक विधिअनुसारका धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन्। पितृको आत्मशान्ति तथा मोक्ष प्राप्तिको कामनासहित आफ्ना पितृहरुको नाम संकल्प गराउन सकिने समेत व्यवस्था मिलाइएको छ।

आयोजकका अनुसार कार्यक्रममा मकवानपुरसहित आसपासका जिल्लाबाट ठूलो संख्यामा भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कुष्माण्ड सरोवर त्रिवेणी धाम पितृकार्य, श्राद्ध तथा धार्मिक अनुष्ठानका लागि उपयुक्त स्थलका रूपमा परिचित रहँदै आएको छ।

धार्मिक कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा, सरसफाइ, यातायात तथा अन्य आवश्यक व्यवस्थापनमा विशेष ध्यान दिइएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। पितृउद्धारको भावनासँग जोडिएको यस १ महिने गरुड महापुराण वाचनले कुष्माण्ड सरोवर त्रिवेणी धामको धार्मिक महत्त्वलाई अझ उजागर गर्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*