फागुन २१ को चुनावमा मकवानपुरका विरोध खतिवडा उम्मेदवार नबन्ने
हेटौंडा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।
नेकपा मकवानपुरले मकवानपुरका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि खतिवडाको नाम सिफारिस गरेको थियो। पूर्व स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार हेटौंडा उपमहानगरपालिका–५ स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा दुवै निर्वाचन क्षेत्रबाट आफ्नो नाम सिफारिस गरिएकोमा आभार प्रकट गर्दै भने, ‘म निर्वाचनमा उठ्दिनँ, अरू साथीहरूलाई सहयोग गर्छु।’
उनलाई उद्धृत गर्दै नेकपाका एक जिल्ला नेताले भने, ‘पार्टीले जसलाई उम्मेदवार बनाउँछ, त्यसको पक्षमा लाग्ने छु भन्नुभएको छ।’
राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधिसभाको सदस्यका रूपमा मकवानपुरबाट ६ पटक उम्मेदवार बनेर चार पटक सफलता हात पार्न सफल भएका थिए खतिवडा।
२०४३ सालमा मालेको तर्फबाट जनपक्षीय उम्मेदवारको रूपमा खडा भएका उनी पराजित भएका थिए। २०४८, २०५१, २०५६ र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उनले विजय हासिल गरेका थिए।
एमाले विभाजित भएपछि तत्कालीन एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बन्न सफल भएका खतिवडा २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खतिवडा प्रखर वक्ताका रूपमा पनि परिचित छन्।







