बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्बाचनमा क–कसले गराए उम्मेदवारी दर्ता ?
हेटौंडा । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेकपा एमालेका प्रेम दंगालले उम्मेदवार दर्ता गराएका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दंगालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएकी हुन् । चितवनकी देवकोटाले बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा समर्थनमा मनोनयन दर्ता गराएकी छन् ।

यसैगरी नेकपा पार्टीका तर्फबाट बागमती प्रदेशमा अन्यतर्फ प्रेम सापकोटा र महिलामा सरोज कुमारी झाले उम्मेदवारी दर्ता गरेका हुन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पाटी (नेमकिपा) का तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । माग ११ मा हुने बागमती प्रदेश तर्फको २ सिटमा हुने निर्वाचनका लागि २ जनाले मनोनयन दर्ता गरेका हुन् । बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका हुन् ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सिट छन् भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०७ सिट छन् । यस्तै, एमालेको प्रदेश सभामा २७ सिट र स्थानीय तहमा ६० सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेश सभामा २१ र स्थानीय तहमा ५७ सिट, राप्रपाको प्रदेश सभामा १३ र स्थानीय तहमा १ सिट, नेकपा एकीकृत समाजवादीको प्रदेश सभामा ७ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेश सभामा ३ र स्थानीय तहमा २ सिट, तथा हाम्रो नेपाली पार्टीको प्रदेश सभामा २ सिट र स्थानीय तहमा १ सिट रहेका छन् ।
बागमती प्रदेशमा कुल मतभार १०,३३ र ३ रहेकोमा कांग्रेसको तीन हजार ९९४ मतभार रहेको छ भने नवगठित नेकपाको प्रदेश सभा सदस्य २८ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ६६ जनासहित ९५ जनाको कुल दुई हजार ७३८ मतभार छ ।
एमाले दुई हजार ५७१ मतभारसहित तेस्रो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७०८ मतभार रहेको छ । नेपाल मजदुर किसान पार्टीको १९७ मतभार रहेको छ भने हाम्रो नेपाली पार्टीको १०६ मतभार र स्वतन्त्रको १९ मतभार रहेको छ ।







