राष्ट्रियसभा सदस्यको उम्मेद्वारी मनोनयन आज, बागमतीमा एमालेको उम्मेदवार दङ्गाल

जनपत्र
२३ पुष २०८२, बुधबार ०८:५५

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

नेकपा एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु चयन गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँगसमेत तालमेलको अवस्थामा एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारहरु तय भएका हुन् ।

एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ ।

गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो । आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन तालिका छ । मधेश प्रदेशको भने नाम तय हुन बाँकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*