हेटौंडामा अपाङ्ग दाजुभाइको कष्टकर जीवनः विरामीले थलिएपछि झुप्रो घरमा सिमित भयो दैनिकी

जनपत्र
२२ पुष २०८२, मंगलवार ०८:३४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ को साजबोटे भन्ने स्थानमा पुग्दा मन भारी हुन्छ। त्यहाँ भेटिन्छ दुई दाजुभाइ, जसको जीवन संघर्ष शब्दमा उतार्न गाह्रो छ। दाजु र भाइ मात्र रहेको यो परिवारसँग दुःख बाहेक अरु केही छैन भन्दा अत्युक्ति हुँदैन।

दाउराले बारेर बनाइएको एक कोठे घर, तीन वटा ढुङ्गाले बनाइएको चुल्हो, दुई वटा पकाउने भाँडा, एउटा पुरानो म्याट र केही सामान्य लत्ताकपडा, यिनै हुन् उनीहरूको सम्पूर्ण सम्पत्ति। पुषको कठ्याङ्ग्रिने चिसोमा पनि आधा शरीर मात्र ढाकेर उनीहरू दिन काटिरहेका छन्। बिहान–साँझ छिमेकीले दिएको खानेकुरामै हातमुख जोर्न बाध्य छन्।

दाजु विश्व लो तामाङ काम गर्न सक्ने समयसम्म भाइको पनि गुजारा चलाउँदै आएका थिए। तर एक वर्षअघि अचानक पूर्ण रूपमा अशक्त भएपछि उनी सुतिरहेकै अवस्थामा छन्। हातखुट्टा चल्दैन, उठ्न सक्ने अवस्था छैन। दाजुको यही हालतपछि भाइ सुकराम लो तामाङ सकीनसकी दाजुको स्याहार सुसारमा जुटिरहेका छन्। सुकराम आफैं बौद्धिक अपाङ्गता भएका व्यक्ति हुन् । एउटा आँखा गुमिसकेको, बोली अस्पष्ट, तर पनि दाजुप्रतिको जिम्मेवारीबाट कहिल्यै पछि हटेका छैनन्।

विडम्बना के भने, दुवै जना अपाङ्गता भएको अवस्थामा हुँदाहुँदै पनि हालसम्म अपाङ्ग परिचयपत्रसमेत पाएका छैनन्। राज्यका कुनै सेवा–सुविधाको अनुभूति नगरी उनीहरूको जीवन बितिरहेको छ। सार्वजनिक सेवा त परको कुरा, आधारभूत मानविय सहायतासमेत उनीहरूका लागि दुर्लभ बनेको छ।

हाल १६ नम्बर वडा कार्यालयबाट दुवै दाजुभाइको अपाङ्ग परिचयपत्र बनाउने प्रक्रिया अगाडि बढिसकेको र त्यही अनुसार हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेको नेतृत्वमा अपाङ्गता भएका दाजुभाइको घर सम्म पुगेर अनुगमन गर्नु भएको छ। साथै, उनीहरुको स्वास्थ्य उपचारका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने लामिछानेले बताउनुभयो । यसले केही आशा पलाएको भए पनि उनीहरूको दैनिक जीवन अझै पनि कष्टकर नै छ।

दाजु विश्व लो तामाङ २०२९ सालमा जन्मिएका हुन्। जीवनको उर्जाशील उमेरमै उनी थलिएका छन्। उनको आँखामा आज पनि बाँकी जीवन सहज होस् भन्ने मौन चाहना झल्किन्छ।

यो कथा केवल साजबोटेको दाजुभाइको मात्र होइन, समाजको आँखाबाट ओझेल परेका धेरै पीडितहरूको प्रतिनिधि कथा हो। कोही पनि सेवासुविधाबाट वञ्चित हुन नपरोस्। यदि यस्तै परिस्थितिमा बाँच्न बाध्य कोही हुनुहुन्छ भने, सबै मिलेर सहयोग गरौँ, यही आग्रहसँगै साजबोटेको एक कोठाबाट मानवताको प्रश्न उठिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*