मकवानपुरको जुरीखेतमा भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु

जनपत्र
२० पुष २०८२, आईतवार १९:५५

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अरु ३ जना घाइते भएका छन् ।

आज साँझ करिब काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइतेहरु नौ जना मध्य ६ जनाको हेटौंडा अस्पतालमा ल्याएपछी डाक्टरले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । मृतकहरुको नाम ठेगाना अहिले सम्म नखुलेको उनले बताए ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोली करिब साढे ५ बजे घटनास्थलमा पुगेको थियो। सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएकोमा अहिले ३ जनाको उपचार भइरहेको छ ।

सुमोमा सवार ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका थिए । दुर्घटनाग्रस्त सुमो गाडी घटनास्थलमै रहेको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वमा पर्दछ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*