भुटनदेवी टोल विकासको आफ्नै भवन बन्दै, नेतृत्वमा पुनः कडेल
हेटौँडा । हेटौँडामा टोल विकास संस्थाहरु सबल हुँदै गएका छन् । वडाभित्रका टोलको समस्या समाधान, पूर्वाधार विकास र टोलबासीलाई सुविधाका लागि टोल विकास संस्थाहरु अपरिहार्य जस्तै देखिएको छ । हेटौँडाको वडा नम्बर १० मा रहेको भुटनदेवी टोल विकास संस्था पनि टोल विकासका लागि हेटौँडाका टोल विकास संस्थाहरुमा अब्बल देखिएको छ ।
संस्थाले शनिबार २५ औँ साधारण सभा गर्दै आफ्नै भवन बन्न लागेको जनाएको छ । संस्थासँग २५ लाख रुपैयाँ भन्दा बढी रकम पनि मौज्दात छ । टोल विकास संस्थाहरुले टोलको विकासका लागि वडा सरकारलाई बजेट निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्दै साधारण सभाका वक्ताहरुले शुभकामना दिए । हेटौँडा वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले टोल विकास संस्थामा नेतृत्व गर्नेहरु नै भावी जनप्रतिनिधिका रुपमा स्थापित हुने गरेको बताए ।
टोल विकास संस्था समन्वय समिति हेटौँडाका महासचिव देवकुमार श्रेष्ठले वडाको विकासको मेरुदण्ड नै टोल विकास संस्था हुने भएकाले योजना निर्माण र बजेटमा टोल विकास संस्था प्रभावकारी हुनु पर्ने बताए । संस्थाकी अध्यक्ष माया कडेलको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । कोषाध्यक्ष बिमला विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाको साधारण सभाले पुनः माया कडेलकै अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समितिमा उपाध्यक्षमा सम्झना थापा, सचिवमा रामबाबु साह, सहसचिवमा हरि केसी, कोषाध्यक्षमा बिमला विष्ट चयन भएका छन् । यस्तै, सदस्यहरुमा मथुराबाबु शाक्य, सरिता बलामी, कमला आचार्य, कृष्णमाया रुम्बा, सुशील न्यौपाने र मदन लामालाई चयन गरेको छ ।







