मकवानपुरमा रुपचन्द्र बिष्ट मार्गमा ३ करोडको काम सुरु, राजमार्गस्तरमा काम गर्न डिपिआर निर्माण हुँदै

जनपत्र
१९ पुष २०८२, शनिबार ०८:०६

हेटौंडा । मकवानपुरमा थाहा आन्दोलनका प्रणेता तथा जनअधिकारका प्रवर्तक रुपचन्द्र बिष्टको नाममा नामाकरण गरिएको रुपचन्द्र बिष्ट मार्ग निर्माणको काम सुरु भएको छ। चालु आर्थिक वर्षमा विनियोजित ३ करोड रुपैयाँको बजेटबाट राक्सिराङ गाउँपालिका–३ खण्डमा सडक निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको मकवानपुर क्षेत्र नम्बर २ का निवर्तमान सांसद महेश कुमार बतौलाले बताए ।

निबर्तमान सांसद बतौलाको बिशेष आतिथ्यतामा सडक निर्माण कार्यको शुभारम्भ राक्सिराङ गाउँपालिका–३ का ज्येष्ठ सदस्यहरू ८७ वर्षीय कृष्णबहादुर पाख्रिङ र सिङ्गबहादुर पाख्रिङले गरेका हुन्। संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यस मार्गलाई राजमार्गस्तरमा विकास गर्ने उद्देश्यसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कामसमेत अगाडि बढिसकेको जनाइएको छ।

पालुङ हुँदै कैलाश, राक्सिराङ र मनहरी जोड्ने यस मार्ग रुपचन्द्र बिष्टको नाममा नामाकरण गरिएको हो। किसान, निमुखा, असहाय र गरिब जनताका नेता तथा जनमुखी अगुवाका रूपमा चिनिने बिष्टको विचार र योगदानलाई स्मरण गर्दै मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

यो मार्ग निर्माण सम्पन्न भएपछि त्रिभुवन राजपथ र महेन्द्र राजमार्गलाई जोड्ने वैकल्पिक र छोटो मार्गका रूपमा विकास हुने अपेक्षा गरिएको छ। जसका कारण मनहरीदेखि काठमाडौंसम्मको यात्रा अझ सहज, सुरक्षित र छिटो हुने विश्वास गरिएको छ।

सडक निर्माणले विशेषगरी राक्सिराङ र कैलाश क्षेत्रका बासिन्दाहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ। यातायात पहुँच विस्तारसँगै कृषि उपजको बजारिकरण, सेवा–सुविधामा पहुँच र समग्र सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*