कमल थापा : हारेको झोँकमा पार्टी परित्याग, हन्डर खाएर फेरि फिर्ता

जनपत्र
१० पुष २०८२, बिहीबार ०९:०६

आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरि राप्रपामा फर्किएका छन् । बुधबार थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गर्ने सहमति गरेसँगै गत महाधिवेशनमा ‘सरप्राइज’ हारपछि चिढिएर पार्टी नै छाडेर हिँडेका थापा ४ वर्षछि पुनः आफ्नो पुरानो घर फर्किएका हुन् ।

बुधबार साँझ धुम्बाराहीस्थित राप्रपा कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । थापा उनै हुन्, जसले २०६२/०६३ सालको जनआन्दोलनपछि कठिन समयमा राप्रपा नेपाल बनाएर राजतन्त्र पुनस्र्थापनाको एजेण्डा अघि सारेका थिए । उनै थापाले पछि पशुपति शमशेर राणालगायतका राप्रपा धारलाई एकतामा ल्याएर एकीकृत राप्रपा बनाउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

तर २०७८ मङ्सिरमा राप्रपाको महाधिवेशन हुँदा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग उनै थापा अप्रत्याशित रूपमा पराजित भएका थिए ।  कमल थापाले त्यसलाई सहजै स्वीकार गर्न सकेनन् । उनले हारको झोँकमा निर्मल निवास र पूर्वराजाले हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाए । त्यही आक्रोशमा थापाले २०७८ माघ २५ गते आफूले जीवनभर बोकेको राजतन्त्रको एजेन्डा र पार्टी दुवै परित्याग गरेको घोषणा गरे ।

पार्टी छाड्नुअघि थापाले दरबारबाट भएको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देनलाई आग्रह गरेका थिए । तर त्यसमा लिङ्देन तयार भएका थिएनन् । त्यतिबेला लिङ्देनले हारको रन्कोमा थापाले दरबारलाई अनावश्यक आरोप लगाएको टिप्पणी समेत गरेका थिए ।

राप्रपाबाट अलग भएपछि थापाले राप्रपा नेपाललाई पुनर्जागृत गरे । सो अघि नै पार्टी नफुटाउने भनेर गीताको कसम खाएकाले थापाले पार्टी परित्याग मात्रै गरेर आफ्नै किसिमले  राप्रपा नेपाल बनाएका थिए । रोचक त के छ भने कुनै समय ‘राजाविनाको देश कल्पना गर्न सकिन्न’ भन्ने थापाले नयाँ पार्टी बनाउँदै गणतन्त्रात्मक व्यवस्थामा पाइला चाल्न थाले । उनले राजनीतिमा टिक्नका लागि अनेक प्रयोग पनि नगरेका होइनन् ।  गत आम निर्वाचनमा उनले नेकपा एमालेको सूर्य चिह्न लिएर मकवानपुरबाट चुनाव समेत लडे । तर, परिणाम सोचेजस्तो भएन । एमालेको साथ पाउँदा पनि उनी पराजित भए भने उनको पार्टीले समानुपातिकतर्फ लज्जास्पद मत प्राप्त गर्‍यो ।

हन्डर खाएपछि पुरानै बाटोमा

राजनीतिक रूपमा एक्लिँदै गएपछि र पार्टी ’क्लब’ जस्तो मात्रै बनेपछि थापाले फेरि पुरानै एजेन्डा ब्युँताउने चलाखी गरे । बिचैमा  उनले ‘संवैधानिक राजसंस्थासहितको हिन्दुराष्ट्र’ लाई पुनः आफ्नो पार्टीको मूल एजेन्डा बनाए । तर एजेन्डा र अस्तित्व दुवै संकटमा परेपछि उनी अन्ततः लिङ्देनकै नेतृत्व स्विकार्ने स्थितिमा पुगेका हुन् ।

बुधबारको सहमतिमा हस्ताक्षर गरेपछि थापाले विगतका गल्ती स्वीकार गर्दै भने, ‘विगतमा पार्टी टुटफुट हुँदा हामीले धेरै तीतो अनुभव र पीडा भोगेका छौं, त्यसबाट हामीले पाठ सिकेका छौं । अब यो एकता अजर, अमर र अटुट रहनेछ ।’ उनले आफू बिना सर्त पार्टीमा आएको र पार्टीले जहाँबाट भन्छ, त्यहीँबाट आगामी फागुन २१ को निर्वाचन लड्न तयार रहेको समेत बताए ।

कार्यकर्ताको दबाब र चुनावी बाध्यता

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने यो एकतालाई कार्यकर्ताको चाहना र ऐतिहासिक आवश्यकताका रूपमा व्याख्या गरे । लिङ्देनका अनुसार देशभरका शुभचिन्तक र कार्यकर्ताहरूको निरन्तरको दबाबका कारण राष्ट्रवादी शक्तिहरूलाई एउटै मञ्चमा ल्याउन यो सहमति भएको हो ।

राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले एकताका लागि हाल दुई हरफको सहमतिपत्रमा हस्ताक्षर भएको बताउँदै बाँकी कुराहरू क्रमशः मिलाउँदै लगिने बताए । पार्टी एकताको औपचारिक घोषणा सभा आगामी पुस १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने तय भएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*