हेटौंडामा मनाइयो प्रतिजैबिक प्रतिरोध सचेतना सप्ताह
हेटौंडा । हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म विश्वभर मनाइने ‘प्रतिजैबिक प्रतिरोध सचेतना सप्ताह’ अन्तर्गत बागमती प्रदेश सरकारले आज विशेष कार्यक्रम गरेको छ। स्वास्थ्य मन्त्रालयको आयोजना तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानअन्तर्गतको AMR Club को समन्वयमा गरिएको ‘Walk the Talk for AMR Awareness’ शीर्षकको पदयात्राले प्रतिजैबिकको दुरुपयोग र प्रतिरोधबारे सन्देश प्रवाह गरेको छ।
राष्ट्रिय कार्ययोजनाले पहिचान गरेको प्रथम प्राथमिकताको क्षेत्र सचेतना, तालिम र सञ्चारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले स्वास्थ्यकर्मी, सामान्य नागरिक र विद्यार्थी लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख कुमार पोखरेलले प्रतिजैबिक प्रतिरोध विश्व स्वास्थ्यका लागि तीव्र रूपमा बढ्दै गएको चुनौती भएकाले सबै तह–तप्काबाट सामूहिक रूपमा सचेतना बढाउनु अत्यावश्यक रहेको बताउनुभयो।
उहाँले प्रतिजैबिकको अनियन्त्रित र गलत प्रयोगले विश्वभर ठूलो स्वास्थ्य संकट निम्त्याइरहेको भन्दै चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने, निर्धारित समयावधि पूरा गरेर औषधि लिने, र समुदायमा सही जानकारी फैलाउने कार्य गर्न अनुरोध गर्नुभयो ।
हेटौंडाको हुप्रचौरबाट सुरु भएको पदयात्रा शितल महल चोक, पारिजात पथ, कान्तिराजपथ, बुद्दचोक हुँदै स्वास्थ्य निर्देशनालयमा पुगेर समापन भएको थियो।
पदयात्रामा सहभागी स्वास्थ्यकर्मी, विद्यार्थी र नागरिकहरूले प्रतिजैबिकको जिम्मेवारीपूर्वक प्रयोग, प्रतिरोध रोकथामका उपाय, सरसफाइ र स्वास्थ्य व्यवहार सुधारबारे सन्देशयुक्त प्लेकार्ड प्रदर्शन गरेका थिए। कार्यक्रमले प्रदेशस्तरमा प्रतिजैबिक प्रतिरोधबारे जनचेतना बढाउँदै, आगामी दिनमा अझ प्रभावकारी अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।







