मकवानपुरका केही फाँट पहेँलपुरः तोरी फुलको सुवाससँगै मौरीको रौनक

जनपत्र
९ मंसिर २०८२, सोमबार ०८:०६

मकवानपुर – जिल्लाका केही फाँटहरू अहिले पहेँलो रंगमा ढकमक्क ढाकिएका छन्। हेटौँडा, हटिया, हर्नामाडी, पदमपोखरी, भीमफेदीको सुपिङ, बकैया, बागमती, मनहरी, मकवानपुरगढी लगायतका क्षेत्रका खेतमा यतिबेला तोरी फुलले सुनौलोपन भरिदिएको छ। खुला निलो आकाश मुनि फैलिएको पहेँलो फाँट र ती फुलबीच भुनभुन गर्दै उडिरहेका मौरीले गाउँघरको वातावरण एकैपटक प्रफुल्लित बनाइदिन्छ।

सिरसिरे हावामा तोरी फुलको सुगन्ध मिसिँदा खेतका किनारमा हिँडेका जोकसैलाई पनि मुग्ध बनाउने दृश्य सिर्जना भएको छ। डुल्दै गरेको मौरीबाट अर्को फुलमा झर्ने दृश्य मात्र रमणीय होइन, कृषि चक्रमा त्यसले पुर्याउने योगदान पनि महत्त्वपूर्ण छ। मौरीले तोरीको रस चुस्दै गर्दा परागसेचन प्रक्रियालाई सहज बनाइदिँदै तोरी उत्पादन बढाउन मद्दत पुर्‍याइरहेका हुन्छन्।

तर, किसान भने पछिल्लो वर्ष यिनै मौरीको संख्यामा आएको कमीले चिन्तित छन्। विषादीको अत्यधिक प्रयोग र वातावरणीय दबाबका कारण मौरी आउने दर घट्दै गएको किसानहरूको अनुभव छ। हेटौँडाको हटिया तथा हर्नामाडी क्षेत्रका फाँटमा मौरीपालक किसान मौरी चरनका लागि बाक्लै आउने गरे पनि यो वर्ष संख्या निकै कम देखिएको किसानहरूको अनुभव छ।

तोरी खेतीको क्षेत्रफल पनि क्रमशः घट्दै गएको किसान नारायण घिमिरे बताउँछन्। उनका अनुसार, “गत वर्षको तुलनामा यो वर्ष तोरी खेती कम भएको छ। सहरीकरण बढ्दै जाँदा खेत बिस्तारै प्लटिङमा परिणत भए, खेतीयोग्य जमिन घट्दै गइरहेको छ।” घिमिरेले यो अवस्थाले दीर्घकालीन रूपमा खाद्य सुरक्षा र स्थानीय उत्पादनमा असर पार्ने चेतावनी दिए।

तोरी फुल र मौरीको उपस्थितिले फाँटहरू अहिले पनि आकर्षक छन्। तर किसानको चिन्ता भने स्पष्ट छ पहेलो खेतको रमणीयता जोगिन, खेती योग्य जमिनको संरक्षण र मौरीमैत्री वातावरण बनाउन आवश्यक कदम अब ढिला नगर्नै पर्ने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*