राक्सिराङ गाउँपालिकाको ४३ कोठे भवन निर्माण सम्पन्न

जनपत्र
१ मंसिर २०८२, आईतवार ०७:२६

हेटौंडा / जिल्लाकै दुर्गम राक्सिराङ गाउँपालिकाको कार्यालय भवनको निर्माण कार्य सकिएको छ । गाउँपालिका केन्द्र रहेको चैनपुरमा चारतले ४३ कोठे भवन निर्माण गरिएको छ  ।

२०७८ असारमा निर्माण कार्य सुरु गरिएको थियो । सम्झौता अनुसार ०८२ असार मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने थियो । तोकिएको समयभन्दा ४ महिना ढिला भए पनि पालिकाको भवन निर्माण कार्य सकिएको अध्यक्ष राजकुमार मल्लले बताए । ‘अब दुई साताभित्र निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गर्नेछ,’ उनले भने ।

जयमाता इन्जिनियरिङ निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का लिएको थियो । निर्माण कम्पनी अहिले भवन हस्तान्तरणको चरणमा जुटेको पालिकाका प्राविधिक धर्मराज चौधरीले बताए । करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो । भवन हस्तान्तरण भएपछि पालिकाको कार्यालय र शाखा सबै एउटै छानामुनि हुने पालिकाका अध्यक्ष मल्लले बताए ।

राक्सिराङ गाउँपालिकाको कार्यालय अहिले चैनपुरमा नै छ । एकनाले कच्ची भवन निर्माण गरेर पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ । स्वास्थ्य, कृषिलगायत शाखा अन्य संघसंस्थाका भवनमा आश्रय लिएर बसेका छन् । मकवानपुर १० वटा पालिकामध्ये मनहरी, इन्द्रसरोवर र बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*