प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डर हेटौंडाका प्रकाशचन्द्र पाण्डेले छाडे साथ

नेकपा विभाजनपछि र सरकारले सुरक्षा दस्ता फिर्ता गरेपछि पाण्डे नेतृत्वमा १० जना पूर्वजनमुक्ति सेनाको टोली प्रचण्डको सुरक्षामा खटिएको थियो ।
जनपत्र
२८ कार्तिक २०८२, बिहीबार १७:२५

हेटौंडा । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कमान्ड सम्हालेका पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र  पाण्डे (प्रलोक) ले प्रचण्डको साथ छाडेका छन्।

संगठनमा वस्तुवादी विधि बनाउन तथा पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा प्रचण्डले बोल्ड डिसिजन लिन नसकेको प्रति असन्तुष्ट जनाउँदै उनले नेकपा माओवादी केन्द्र अर्थात नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा घोषणा गरेका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजकलाई पत्र लेख्दै राजीनामा घोषणा गरेका हुन्।

‘… घट्ना क्रम निरन्तरता हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पद सहित नेकपा (माओवादी केन्द्र) अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु,’ पत्रमा भनिएको छ।

उनले अगाडि लेखेका छन्, ‘मलाई थाहा छ मेरो यो निर्णय मेरो ठूलो परीक्षा पनि हो । यो परीक्षा पास गर्न चानचुने मेहनत पर्दैन । मलाई यो पनि थाहा छ म माथि कस्ता आरोप वा शब्द प्रयोग हुन्छ । म ती सबै आरोपको राजनीतिक प्रतिवादका लागि तयार छु । यो पत्रमा यत्ति चाहिँ भनौं मैले तपाईं र यो पार्टीमा रहँदासम्म तपाईं र पार्टीको इमान बेचिन । मैले कुनै फाइदा लिइनँ । नि:स्वार्थ विचार/ नेतृत्वको रक्षा गरें । स्वभाव जन्य व्यवहारले कहीँ कतै कसैलाई मन दुखाएको भए यही पत्र मार्फत क्षमा माग्दछु।’

नेकपा विभाजनपछि र सरकारले सुरक्षा दस्ता फिर्ता गरेपछि पाण्डे नेतृत्वमा १० जना पूर्वजनमुक्ति सेनाको टोली प्रचण्डको सुरक्षामा खटिएको थियो ।

कमरेड संयोजक

केन्द्रीय कार्यालय, काठमाडौं, कोटेश्वर

पेरिस डाँडा

अध्यक्ष कमरेड, मैले निकै सोचेर महान शहीदहरूलाई सम्झँदै म जस्तै तमाम घाइते शरीरभरि गोली र छर्रा बोकेर नियमित औषधि खाएर जीवन बचाउनुपर्ने सहयोद्दाहरूको पीडा अनुभूति गर्दै बेपत्ता साथीहरूलाई सम्झिएर माटो छोएर यो पत्र लेख्ने हिम्मत गरेको छु। मैले मेरो जिम्मेवारी भएको साङ्गठानिक फर्मेसनमा राजीनामा र सदस्यता परित्यागको पत्र दिएको जानकारी भयो होला भन्ने लाग्छ ।

आदरणीय संयोजक कमरेड

के प्रचण्ड ब्रिगिएकै हुन् त ? अन्तर हृदयदेखि मन उद्वेलित छ। पटकपटक गरी लामो समय तपाईंको सुरक्षाका लागि रहेको सिपाही, तपाईंका लागि मर्न तयार म आज निकै भावुक छु । आज सीता आमा, ज्ञानु दिदी र प्रकाश दाइलाई अलि बढी सम्झिएको छु। सायद उहाँहरू भइदिएको भए मैले यो लेखिरहनुपर्ने पक्कै पर्दैन थियो, यो पनि मनमा खेल्छ ।

शान्ति प्रक्रियाको सुरुवाती समय कामीडाँडादेखि काठमाडौंका बौद्ध, ठमेल, भक्तपुरका होटलहरूमा बसेकोदेखि स्थायी रूपमा नयाँ बजारमा बस्न सुरु गरेको दिनहरू मानसपटलमा फनफनी घुमिरहेका छन् ।

बालुवाटारबाट सार्वजनिक हुँदा नेताहरूको एउटै ड्रेस, सुरक्षामा खटिएका जनमुक्ति सेनाको एउटै रङका सफारी सुट, पहिलो संविधानसभामा रोल्पादेखि काठमाडौं १० नम्बर क्षेत्रमा नेतृत्वको रक्षाको लागि गरिएको बन्दोवस्ती, ६ दिने हाम हड्ताल र कटुवाल प्रकरणमा नेताहरूको भागदौडमा तपाईंले हामी कमान्डरहरूलाई बरु म पनि मर्न तयार तर बालुवाटारबाटै संसारलाई दिएको हुँकार होस् वा गिरिजाप्रसाद कोइरालादेखि माधव नेपाल हुन् वा भारतका पूर्वराष्ट्रपति प्रतिभा पाटिलसम्मको भेटवार्ता ।

कूटनीतिक नियोगका विशिष्ट व्यक्तिदेखि सेना समायोजनको अन्तिम छलफल चल्दै गर्दा समायोजनको विषयमा रुकमांगद कटवालसँगका वार्तालापसम्म, अनि कटवाल र झलनाथले दिएको धोका हुन् वा भारतीय पक्षले यो वा त्यो नाममा पशुपति पुजारी काण्डमा दिएको तनावलाई कूटनीतिक प्रतिवाद र प्रतिरोधका निम्ति तयार प्रचण्ड ।

हरेक पटक पार्टी फुट्दा के म समस्या हो ? मसँगै रहेका तपाईं सचिवालय र फोर्सका कमरेडहरूले सुझाव दिनोस् है भन्ने प्रचण्ड म झलझल याद गरिरहेको छु । रेणु दिदी, अर्जुन र सागर भिनाजु जसले प्रचण्डलाई कहिले बेचेनन्, इमानमा अडिग ती दिनहरू रिल जस्तै फनफनी घुमिरहेका छन् ।

सँगै सुरक्षामा रहेका कमरेडहरूले खाजा/खाना खाए वा खाएनन् सोध्ने प्रचण्ड, सीता आमाले आज भाषण गर्नुपर्छ चिल्लो-पिरो खाँदा गार्‍हो हुन्छ भन्दा हामीलाई खुसुक्क म:म खान पर्‍यो भन्ने त्यो सरलताको प्रचण्ड आज म निकै विक्षिप्त छु, मैले यो लेख्न हुन्थ्यो वा हुँदैनथ्यो मलाई थाहा छैन । मसँग यस्ता अनुभूति र सत्य कथा कति छन् कति। मैले जीवनपर्यन्त नभन्दा देश र जनतालाई फाइदा पुग्ने अमिट छाप पनि अनगिन्ती छन् ।

नेपाली समाजको वर्गीय, क्षेत्रीय, जातीय, लैगिंक अधिकारका लागि जीवनलाई तिलाञ्जली दिन तयार प्रेरणाको स्रोत कोही छ भने त्यो प्रचण्ड नै हो । पुरातन अतिवादी संस्कार र मान्यताहरूको मूल जरोलाई हल्लाइदिने कोही हो भने तपाईं हो। इतिहासको कठघरामा उभिएर जन्मिएको माटोलाई छातीमा राखेर तमाम शहीदहरूलाई सम्झिएर कसम खानुपरेको दिन यो चाहिँ गर्वले भन्छु, प्रचण्ड इमानदार छन् ।

मडारिएको कालो बादल

केही वर्षदेखि पार्टीभित्र बढ्दै गएको आत्मकेन्द्रित व्यक्तिवाद, तपाईंलाई देखाएर आफ्ना कमिटी/जवस मोर्चाहरूका नेताहरूले सहयोद्धा कमरेडहरूलाई गरेको छि:छि: दूरदूर, फरक विचारलाई कत्लेआम, अपमान यति असहिष्णु बढेको छ त्यो व्यक्ति हत्यासम्म नपुग्ला भन्न सकिन्न ।

तथ्य र सत्य रिपोर्टिङ तपाईंकहाँ आउने बाटोहरू पूर्ण रूपमा बन्द गराउँदै आइरहेका छन् । आफू, आफ्ना वा आफ्ना नश्लसमेत जोडिएकालाई खातमाथि खात पार्दै निमुखा, इमानदार कार्यकर्ता, जनतालाई धोका दिइरहेका छन्। तपाईंलाई खुसी पार्न गरिने जायज वा नाजायज पर्दा पछाडिका खेलहरू यति गम्भीर छन् कि सायद त्यसले भोलिका दिनहरूमा भौतिक शरीरमाथि पनि सजिलै धावा बोल्ने फराकिलो बाटो तय गरेका छन् ।

तपाईं पूर्व-पश्चिम जनताको घरदैलोमा रहँदा तराई कुनै जिल्लामा धारोमा सामान्य चिप्लिएको कुरा होस् वा तपाईंले प्रयोग गर्ने कपडा, खाने नुन होस् वा चामल, कफी होस् वा तरकारी त्यो निशानामा छ । छिनभरमै सूचना लाजिम्पाट वा चक्रपथ पुग्छ कसरी ? यो मलाई राम्रो अनुभूत छ । आफ्नै भन्नेहरू वैरी छन् । अविश्वास पनि कसलाई किन कसरी गर्ने ? विस्तारै घेरा हाल्दै हाल्दै आज तपाईंलाई किरण, बाबुराम, विप्लव वा कठिन यात्रामा सँगसँगै रहेका बादल, जनार्दनभन्दा पहिला माधव, झलनाथ, वामदेवहरू प्रिय बनाइदिएका छन् ।

तपाईंको भावना, पिर, वेदना मजाले पोखेर मन शान्त पार्ने, कुरा सुनेर हामी छौं संयोजक कमरेड भनिदिने पात्र पनि म देख्दिनँ । लुछ्ने, खाने, बार्गेनिङ गर्ने, घुर्की लाउने, दिए प्रचण्ड महान नेता नदिए खत्तम्। यस्तै घेराको बीचमा तपाईं हुनुहुन्छ। तपाईं घेरा तोडेर बाहिर निस्कन अब ढिलो हुने क्रम बढ्दै छ । फरक मत राख्नेको उछितो काढेका छन् । लेलिनवादी सांगठनिक मान्यतासमेत मान्ने परिस्थिति कमिटीहरूमा छैन ।

संगठन मा वस्तुवादो विधि तयार, पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा तपाईंले बोड्ली लिन नसकेको डिसिजन पनि घेराबन्दी हो ।

राजीनामा र पार्टी परित्याग

अत: यी र यस्ता घट्नाक्रम निरन्तर हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पदसहित नेकपा (मा.के) अर्थात् हाल नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु ।

मलाई थाहा छ, मेरो यो निर्णय मेरो ठूलो परीक्षा पनि हो। यो परीक्षा पास गर्न चानचुने मिहिनेत पर्दैन । मलाई यो पनि थाहा छ, ममाथि कस्ता आरोप वा शब्द प्रयोग हुन्छन्। म ती सबै आरोपको राजनीतिक प्रतिवादका लागि तयार छु । यो पत्रमा यत्ति चाहिँ भनौं, मैले तपाईं र यो पार्टीमा रहँदासम्म तपाईं र पार्टीको इमान बेचिनँ। मैले कुनै फाइदा लिइनँ । नि:स्वार्थ विचार/नेतृत्वको रक्षा गरें । स्वभाव जन्य व्यवहारले कहीँ, कतै, कसैलाई मन दुखाएको भए यही पत्रमार्फत क्षमा माग्दछु ।

प्रकाशचन्द्र पाण्डे ‘प्रलोक’

उपाध्यक्ष

उपत्यका विशेष प्रदेश

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*