मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

जनपत्र
२७ कार्तिक २०८२, बुधबार ०७:१५

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडेमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्गको हात्तिसुडे खण्डमा मङ्गलबार साँझ हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ७१ वर्षका खडकबहादुर घलानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करका कारण टाउको र अनुहारमा गम्भीर चोट लागेका घलानलाई स्थानीयले तुरुन्तै उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल पठाएका थिए । तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए ।

मोटरसाइकल चालक बकैया गाउँपालिका–७ का २५ वर्षीय देवराज विक र पछाडि सवार बागमती गाउँपालिका–६ का २० वर्षीय देवराज धानुकी दुबै सामान्य घाइते भएका छन् । उनीहरू दुवैको हात्तिसुडे मेडिकलमा प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*