हेटौंडाको शिवम् सिमेन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता, विद्युत् जोडियो
हैटौंडा/ मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले नेपाल विद्युत् प्राधिकरणलाई धरौटीबापतको रकम तिरेको छ ।
लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट उपयोग गरेको विद्युत् महशुलका विषयमा विवाद रहेका बेला यसअघि उद्योग वाणिज्य महासंघ र सरकारबीच भएको सहमतिअनुसार धरौटीवापतको रकम भुक्तानी भएको छ ।
पहिलो किस्ता बराबरको रकम धरौटीस्वरुप तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबारदेखि जडान भएको छ ।
२०७२ माघदेखि २०७५ वैशाखसम्म उद्योगहरुले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको प्राधिकरणको भनाइ छ । शिवम्को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बराबरको रकम धरौटीबापत बुझाएको हो ।







