पार्टी छोडेर गएकाहरुलाई मुलघर फर्कन एमाले मकवानपुरले अपिल
मकवानपुर । नेकपा एमाले मकवानपुरबाट विभिन्न समयमा पार्टी छोडेर गएकाहरुलाई आफ्नो मुल पार्टी फर्कन एमाले मकवानपुरले अपिल गरेको छ ।
पार्टीले अपिल पत्र सार्वजनिक गर्दै भनेको छ “विद्यमान परिस्थितीमा तपाईहरुको योगदानको निरन्तरता, राजनैतिक कृयाशिलता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा एमाले नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।”
नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले राष्ट्रिय स्वाधिनताको, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने कुरा तथ्य र परिणामले पुष्टि गरेको विषयहरुले हामीलाई गर्वबोधको अनुभुती भएको उल्लेख गदै पार्टी उपाध्यक्ष हिदम लामाद्धारा हस्ताक्षरित अपिल पत्रमा भनिएको छ “भाद्र २३ र २४ गतेको जेन जी आन्दोलन र त्यस आन्दोलनमा भएको घुसपैठले मच्चाएको विध्वंसपछिको अवस्थालाई विश्लेषण गर्दा पनि एमालेको पार्टी कार्यालय र एमाले नेतृत्वको निवासलाई प्रहारको निशाना बनाएको देखिन्छ ।
नेकपा एमालेलाई कमजोर बनाउदा मात्र नेपालको राष्ट्रिय स्वाधिनताको पक्षलाई धक्का दिन सकिन्छ र समृद्धिका सपनाहरुलाई मुर्छित गर्न सकिन्छ भन्ने देशी विदेशी शक्तिहरुको सोच छर्लङग देखिएको अपिल पत्रमा दाबि गरिएको छ।
यो समय राष्ट्रिय राजनितीमा नयाँ तरङ्गहरु देखा परेको र दलहरुमा गठन पुनर्गठन र विघटनका श्रृङखलाहरु सुरु भएको उल्लेख गरिएको छ । अपिल पत्रमा भनिएको छ “हिजो नेकपा एमालेमा आवद्ध भई लामो समय यो पार्टी निर्माणमा रगत पसिना बगाउनु भएका कमरेडहरु मकवानपुरमा पनि पार्टी विभाजनको क्रममा एकिकृत समाजवादीमा आवद्ध हुनु भएको थियो, तसर्थ, एकिकृत समाजवादीमा आवद्ध मकवानपुरका सम्पूर्ण कमरेडहरुलाई नेकपा एमाले मकवानपुर आफ्नै घर फर्कन हार्दिक आह्वान गर्दछ ।”







