बागमती प्रदेशमा कांग्रेस र एमालेमा सभामुख कसले पाउने भन्नेमा टुङ्गो नलाग्दा संसद बैठक रोकियो
हेटौंडा । बागमती प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच सभामुख पद कसले पाउने भन्ने विषयमा सहमति नजुट्दा प्रदेशसभाको बैठक बस्न सकेको छैन। दुवै दलले आफ्ना–आफ्ना दाबी कडा रूपमा अघि सारेपछि राजनीतिक सहमतिको आधारमा चल्ने प्रदेशसभा पेचिलो अवस्थामा पुगेको छ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको राजीनामा दर्ता भए पनि अझै स्वीकृत भएको छैन। संसद सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार बैठक बस्नका लागि सभामुखको राजीनामा स्वीकृत गरी नयाँ सभामुख चयन प्रक्रियामा प्रवेश गर्नुपर्छ। तर बैठक बस्नका लागि ढिलाइ भएकाले राजीनामा स्वीकृत गर्ने निर्णयसमेत हुन सकेको छैन।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मर्मत गरेपछी प्रदेशसभा भवनमा बैठक बस्नका लागि आवश्यक तयारी पूरा भइरहेको छ । केही दिनमा त्यो तयारी पनि पुरा हुँदै छ । बैठक हल तयार पारिएको छ तर सभामुख कसले लिने भन्ने विषयमा कांग्रेस–एमालेबीच स्थायी टुङ्गो नलागेकै कारण बैठक बोलाउन ढिलाइ भएको हो। दुई दलबीच पछिल्ला दिनमा भएका छलफलहरूमा पनि कुनै सहमति बनेको छैन।
यसैबीच प्रदेशसभा सदस्यहरूले बैठक यथाशीघ्र बसालेर राजीनामा स्वीकृत गर्ने तथा नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। लामो समयदेखि ठप्प भएको विधायकी काम, बजेट कार्यान्वयनसँग सम्बन्धित विषय र सरकारका नीतिगत काम बाधित भएको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। सत्तारूढ गठबन्धनभित्र सभामुख पद कुन दलले नेतृत्व गर्ने भन्ने विषय समाधान नभएसम्म प्रदेशसभाको बैठक अझै केही ढिला हुने देखिएको छ ।






