हेटौंडामा ३४ लाख बराबरको भन्सार छलि सामान र पटकासहित दुई जना पक्राउ

जनपत्र
२४ आश्विन २०८२, शुक्रबार ११:२७

मकवानपुर । मकवानपुर प्रहरीले करिब चौँतीस लाख रुपैयाँ बराबरको भन्सार छलि गरी ल्याइएका कपडाहरु र प्रतिबन्धित पटकाजन्य पदार्थहरु नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार,आज बिहान करिब ४ः१० बजे, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडि, पूर्व–पश्चिम राजमार्गमा प्रहरी टोलीले शंकास्पद रुपमा आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीलाई रोकी जाँच गर्दा उक्त सामान बरामद भएको हो।

प्रहरीले गाडी चलाइरहेका रौतहट बृन्दाबन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ।

गाडीको पछाडिको ढालामा विशेष तरिकाले लुकाइ–छिपाइ गरी भन्सार छलि ल्याइएका कपडा भेटिएका थिए। ती कपडामा साडी १३० थान, कुर्था ६९६ थान, र टप्स १७५ थान भएको प्रहरीले जनाएको छ। यी कपडाको मूल्य करिब १४ लाख बराबर रहेको अनुमान गरिएको छ। त्यससँगै, गाडीमा प्रतिबन्धित पटकाजन्य ‘झिरझिरे’ लगायतका पदार्थहरू समेत करिब २० लाख बराबरको फेला परेका छन्। यसरी कपडा र प्रतिबन्धित पदार्थ गरी जम्मा करिब ३४ लाख बराबरको सामान प्रहरीले बरामद गरेको हो।

प्रहरीका अनुसार, बरामद गरिएको सामानसहित दुबै जना चालक र सवारीसाधनलाई नियन्त्रणमा लिइ भन्सार ऐन अन्तर्गत थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*