६८१३ कैदी कारागार बाहिर : सुरक्षा चुनौतीसँगै विदेश भाग्ने जोखिम

जनपत्र
९ आश्विन २०८२, बिहीबार ०८:५२

काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको मौका छोपेर कारागार तोडेर भागेका कैदीबन्दीका कारण अहिले समाज त्रस्त छ ।

कैदीबन्दी समाजमा खुलेआम हिँड्दा सुरक्षा चुनौतीमात्रै थपिएको छैन, विदेश भाग्ने जोखिमसमेत बढेको छ । आज बुधबार १२ बजेसम्मको तथ्यांकअनुसार अझै ६ हजार ८१३ कैदीबन्दी खुला समाजमा छन् । उनीहरू कारागारको चौघेरामा आउन बाँकी नै छ ।

नेपालमा जघन्य अपराध गरेर कारागार पुगेका कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै अहिले कारागार व्यवस्थापन विभागले यसबारे गृहकार्य सुरु गरेको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार अहिले धमाधम फरार कैदबन्दीहरूको विवरण अध्यावधिक गर्ने काम भइरहेको छ । ‘हामीले कैदीबन्दीको वैयक्तिक विवरण अध्यावधिक गरिरहेका छौं । यसबारे अध्यागमनलाई पनि जानकारी गराएका छौं,’ न्यौपानेले अनलाइनखबरसँग भने ।

कारागार कार्यालयहरू तोडफोड तथा जलेर नष्ट भएकाले कैदीहरूको विवरणसमेत जलेकाले केही समस्या भएको बताइएको छ ।

कारागारबाट बाहिर रहेका कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै उनीहरूको विवरण अध्यावधिक गर्ने काम भइरहेको छ । विवरण अध्यावधिक गरेका कैदीबन्दीका नागरिकता, पासपोर्ट लगायतको विवरण अध्यागमनमा बुझाइने उनले बताए ।

अध्यागमन विभागले पनि यसबारे काम भइरहेको बताएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले कारागार व्यवस्थापन विभागले पठाएका विवरणअनुसार अध्यागनले रेकर्ड राखेर निगरानी सुरु गरेको बताए ।

‘विदेश भाग्ने सम्भावना हुने भएकाले कारागार विभागलाई जतिसक्दो चाँडो विवरण पठाउन भनेका छौं । भोलिसम्ममा फरार सबै कैदीबन्दीको विवरण पठाउने जानकारी आएको छ,’ तिवारीले अनलाइनखबरसँग भने ।

सबै विवरण आएपछि सिस्टममा कालोसूचीमा राखेर निगरानी बढाइने अध्यागमनले बताएको छ । ठूलो संख्यामा कैदीबन्दी कारागार बाहिर रहेपछि केही देशले नेपालीको भिसामा कडाइ गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*