हेटौंडामा नेपाली सेना सवार ट्रक दुर्घटना, १६ जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई र बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईबीचको सिमानास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो नेपाली सेना सवार ट्रक दुर्घटना भएको छ। दुर्घटनामा १६ जना नेपाली सेना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको छ ।
मकवानपुर र बाराको सिमाना नजिकैको पुलबाट करिब १२ फिट तल खस्दा लु १ ग २८० नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको हो। उक्त ट्रक नं २ राजदल गण तनहुँबाट धनुषा तर्फ उप सेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा जाँदै गरेका चारवटा सेनाका ट्रकमध्ये एक थियो। सो ट्रकमा २२ जना सेना सवार थिए।
दुर्घटनापछि प्राप्त जानकारीअनुसार १६ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य छन्। सबै घाइतेहरुलाई नेपाली सेनाकै सहयोगमा तत्काल उद्दार गरी हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।








