हेटाैंडामा संविधान रक्षाकाे माग गर्दै युवाहरू शान्तिपूर्ण प्रदर्शनमा उत्रिए
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज दिउँसोका लागि जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै युवाहरू हेटौंडामा सडकमा उत्रिएका छन् । संविधानको संरक्षण र नागरिक सर्वोच्चताको मागसहित उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
हेटौंडाको मुख्य बजार क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसम्बद्ध युवाहरूले ‘संविधान रक्षा गर’, ‘नागरिक सर्वोच्चता कायम गर’, ‘सैनिक शासन चाहिँदैन’, ‘राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर’ भन्ने नाराबाजी गरेका थिए । निषेधाज्ञाको कारण प्रदर्शन रोक्न नेपाली सेना अग्रपंक्तिमा खटिएको भए पनि युवाहरू प्रतिकारमा उत्रिँदै सडकमा नारा लगाइरहेका थिए ।
प्रदर्शनलाई नेपाली कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीलगायतका युवाहरूले नेतृत्व गरेका थिए । सीमाचोकमा आयोजित कोणसभामा सम्बोधन गर्दै अध्यक्ष नगरकोटीले संविधान रक्षा आन्दोलन आजदेखि निरन्तर हुने चेतावनी दिँदै हजारौँ संख्यामा सडकमा उत्रिने दाबी गरे ।
प्रदर्शनमा सहभागी युवाहरूले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी भएको घटनाप्रति विरोध जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
बुधबार भएको आन्दोलनमा बागमती प्रदेश सरकारका दुई दर्जनभन्दा बढी मन्त्रालयसहित सार्वजनिक संरचना र नेतादेखि व्यवसायीसम्मका निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।








