मकवानपुर नेकपा एसमा संकट : ४ वर्षमा ३ अध्यक्ष, दुई एमालेमा फर्किए, अहिलेका पनि रास्वपामा गए
हेटौँडा । २०७८ भदौ ९ गते दर्ता भएको माधव-झलनाथ नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता थिए विरोध खतिवडा र उनको भूगोल थियो मकवानपुर ।
पार्टी बनेको चार वर्षमा केन्द्रमा माधव नेपाल र झलनाथ खनालको जति द्वन्द्व बढिरहेको छ, त्यति नै मकवानपुरमा पनि पार्टी क्षयीकरण भइरहेको छ । भदौ १९ गते नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि समाजवादी मकवानपुरमा अध्यक्ष टिकाउनै समस्या देखिएको छ ।
उनी नेकपा एमालेका जिल्ला सदस्य र त्यसअघि समाजवादीका उपाध्यक्ष भइसकेका भूमिनन्द अर्यालसहित काठमाडौँ पुगेर रास्वपा पार्टी नेतृत्वसँग टीका लगाएर फर्किए । उनले भने, ‘जिल्लामा कार्यक्रम गरेर नै सन्देश दिने तयारी छ अरु साथीहरुसँग छलफलमा छु ।’ दाहाल र समाजवादी छाडेर एमाले भएका अर्याल दुवै विरोध खतिवडाका प्रिय पात्रहरु हुन् ।
यसअघि २०७९ वैशाख १५ गते नेकपा एकीकृत समाजवादी मकवानपुर अध्यक्षमा पार्टी केन्द्रीय सदस्य र मकवानपुर सहइञ्चार्ज रहेका सूर्यचन्द्र न्यौपाने तोकिएका थिए । डोरमणि पौडेल बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री हुँदा न्यायाधीवक्ता रहेका न्यौपाने पार्टी अध्यक्ष श्रीधर पोखरेलले दलबलसहित वैशाख १४ गते निर्वाचनसंघारमा पार्टी छाडेपछि निर्वाचनभर ‘म्यादी अध्यक्ष’ बनाइएका थिए । पुस ९ गतेसम्म अध्यक्ष रहेका न्यौपाने समाजवादी पार्टीका शीर्षस्थ नेता मुकुन्द न्यौपाने, बागमती प्रदेश उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्केपछि एमालेमै फर्किएका हुन् ।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा हेटौँडामा मेयरको टिकटको विषयमा असन्तुष्टि बढेपछि निर्वाचन संघारमा वैशाख १४ गते पार्टीका पहिलो अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेका थिए । उनी ८ महिना मात्र समाजवादीमा रहे । पोखरेल हाल नेकपा एमाले मकवानपुरमा अध्यक्ष छन् ।
‘जजसलाई अध्यक्ष बनाइयो, सबै छाडेर जानुभयो, शनिबार दिउँसो पार्टी अगुवाहरुको भेला डाकेका छौँ, एउटा निष्कर्षमा पुग्छौँ,’ समाजवादी मकवानपुर सचिव किशोर बर्तौलाले भने, ‘जिल्ला इञ्चार्ज मुनु सिग्देल बाहिर हुनुहुन्थ्यो, मकवानपुर आइपुग्नु भएको छ, नेतृत्वबारे पहिला अगुवाहरुमा छलफल चलाउँछौँ ।’ नेपाल प्रेसबाट ।







