बागमतीमा मन्त्रिपरिषद् बैठकः सरकारको प्रवक्तामा तामाङ, राजनीतिक सल्लाहकारमा लामा

जनपत्र
१२ भाद्र २०८२, बिहीबार १९:१३

हेटौंडा । बागमती प्रदेश सरकारको आज मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकले बिभीन्न निर्णयहरु गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आधिकारिक प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सरकारले पूर्णता नपाएको अवस्थामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ प्रवक्ताको भूमिकामा थिए ।

प्रवक्ता तामाङले ६ जना सचिवको पदस्थापन गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार इश्वरचन्द्र मरहठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव, इन्द्रदेव भट्ट खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको सचिव, वीरेन्द्रदेव भारती युवा तथा खेलकुद विकास मन्त्रालय, बलराम ढकाल श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिव, झलकराम अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयको सचिवमा पदस्थापन भएको निर्णय गरिएको हो।

सोही बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति समेत रहेका लामा नयाँ सरकार गठन भइसकेपछि सल्लाहकारको जिम्मेवारी पाएका हुन् ।

यसका अतिरिक्त, चालु आर्थिक वर्ष २०८२–८३ का लागि विभिन्न मन्त्रालय अन्तर्गत आवश्यक पर्ने अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका दरबन्दी र संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत आयोजना सञ्चालनका लागि अस्थायी सङ्गठन संरचना तथा दरबन्दीलाई स्वीकृति दिइएको छ ।

सरकारको पहिलो पूर्ण बैठकले जिल्ला समन्वय समिति सहयोग कार्यक्रम अन्तर्गत १३ जिल्लाका जिल्ला समन्वय समितिलाई ४०–४० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने बजेट अख्तियारी दिने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*