हेटौंडामा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

जनपत्र
११ भाद्र २०८२, बुधबार ०७:४२

हेटौँडा । विश्वकर्मा पूजा आउन करिब तीन साता बाँकी रहँदा हेटौंडामा विश्वकर्माको मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ ।

मूर्तिकार महोमद शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि बनाउन थालिएको बताए । विश्वकर्मा पूजाका लागि फरकफरक स्वरुपका कलात्मक मूर्ति बनाउन उहाँलाई हिजोआज भ्याइनभ्याइ छ ।

हेटौंडाका बिभीन्न स्थानमा माटोको मूर्ति निर्माण गर्ने, निर्मित मूर्तिलाई सिँगार्ने, रङ लगाउने, सजाउने, आकर्षक बनाउनेलगायत कार्यमा व्यस्त हुने गरेको शाहले बताए ।
‘पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायत क्षेत्रमा मूर्ति मा बढी हुन्छ।

मूर्तिलाई प्रतिस्थापना गरेर पूजाअर्चना गर्ने प्रचलन छ’, उनले भने, ‘बजार मागअनुसार आपूर्ति गर्ने उद्देश्यले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, पछि हतार गर्नुभन्दा अहिलेदेखि काम गर्द सहज हुन्छ।’

मूर्तिकार शाहले हालसम्म हेटौंडाका बिभीन्न स्थानमा मूर्ति निर्माण भइसकेका जनाउँदै थप मूर्ति बनाउने तयारी भइरहेको बताए । ग्राहकको मागअनुसार विभिन्न दररेटका मूर्ति बनाउने गरेको शाहले उल्लेख गरे । ‘एउटा मूर्ति बनाउन झण्डै एक साता लाग्छ । तीन दशकदेखि मूर्तिकार पेसालाई अगाँल्दै आएको छु । विश्वकर्माको पूजा, छठ पर्व, वडादसैँलगायत चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्दै आइरहेको छु’, उनले भने ।

मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायत सामग्री प्रयोग हुने शाहले जानकारी दिए । लामो समयदेखि यही पेसाबाट छोराछोरीको शिक्षादिक्षासँगै आठ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*