थाहा नगरपालिका ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषित
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका ‘पूर्ण संस्थागत सुत्केरी पालिका’को रुपमा घोषित भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आइतबार एक समारोहका बीच थाहा नगरपालिकालाई औपचारिक रुपमा यो उपाधि प्रदान गरेका हुन् ।
थाहामा हाल सबै गर्भवती महिला स्वास्थ्य संस्थामार्फत सुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् । यससँगै मातृ तथा नवजात शिशु मृत्यु दर शून्यमा झरेको छ । कार्यक्रममा मुख्यमन्त्री बानियाँले थाहाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समुदायको सक्रियताप्रति प्रशंसा गर्दै यो उपलब्धिलाई निरन्तरता दिन आग्रह गरे । उनले उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन र सडक विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा गरेका काम प्रशंसायोग्य रहेको बताए । २०७६ साउन १७ गते थाहा–६ वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । हाल १२ वटै वडामा यो अभियान कार्यान्वयनमा आएको छ ।
थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार नगरपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन् । गत आवमा मात्र विभिन्न स्वास्थ्य संस्थामा ३५६ जना महिला सुरक्षित प्रसूति सेवाबाट लाभान्वित भएका थिए । हाल थाहा नगरपालिकामा १२ वटा स्वास्थ्य संस्थामार्फत नियमित रुपमा मातृ–शिशु स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ ।






