मकवानपुरमा खोलाले बगाएर एक जना बेपत्ता
मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलामा आज दिउँसो एक युवक बगेर बेपत्ता भएका छन्।
इलाका प्रहरी कार्यालय मकवानपुरगढीका अनुसार तल्लो छाप बस्ने २५ वर्षीय विनोद बम्जन सोही गाउँपालिका–७ सुकौरा तर्फको पसलबाट घर फर्कने क्रममा खोलाले बगाएको हो। स्थानीय स्तरमा होमपाइप राखेर आवतजावत गर्ने व्यवस्था गरिएको कार्की खोलामा दिउँसो करिब साढे बजे अचानक पानीको बहाव बढ्दा उनी बगाएका हुन्।
घटनाबारे जानकारी प्राप्त भएको करिब ५ बजेपछि प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको कमाण्डमा पाँच जनाको प्रहरी टोली स्थानीयवासीसहित घटनास्थलमा पुगेर खोजतलास कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ। हालसम्म बम्जनको अवस्था थाहा हुन नसकेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।






