हेटौंडामा तीज कार्यक्रमको रौनक : पार्टी प्यालेसदेखि टोल-टोलमा महिलाको चहलपहल

जनपत्र
६ भाद्र २०८२, शुक्रबार ०८:४१

हेटौंडा । साउन सकिन नपाउँदै देखि हेटौंडा बजारको माहोल तीजमय बनेको छ। गाउँघरका महिलाहरु अझै तीजकै दिन दर खाने तयारीमा व्यस्त देखिन्छन् भने शहरमा भने तीज आउनु भन्दा दुई साताअघि देखिनै यसको रौनक सुरु हुन्छ।

विशेषगरी हेटौंडाका पार्टी प्यालेस, होटल, विभिन्न संघसंस्था र टोल विकास संस्थाले आयोजना गर्ने सामूहिक दर खाने कार्यक्रमले शहरलाई उत्सवमय बनाएको छ। मकवानपुरमा रहेका राजनितिक पार्टीनै पिच्छेका भातृसंगठनका जिल्ला कमिटी, नगरकमिटी, वडा कमिटीले छुट्टा छुट्टै रुपमा तिज कार्यक्रम गरेका छन् ।

तीज कार्यक्रमलाई नेपाल पत्रकार महाँसंघ मकवानपुर सहितका केही संघसंस्थाहरुले भने यसलाई नयाँ कामको सुरुवातका रुपमा र महिलाहरुको हक हितका लागि नयाँ कामको सुरुवात समेत गरेका छन् ।

दर खाने बहानामा भेटघाट

हिजोआज हेटौंडाका प्रायः सबैजसो पार्टी प्यालेस र होटलहरू दर खाने कार्यक्रममा रंगिएका छन्। बिहानैदेखि महिलाहरू समूह–समूहमा चिटिक्क सजिएर पार्टी प्यालेसतर्फ लागेका देखिन्छन्। रातो सारी, हरियो चुरा र रातोपोतोमा सजिएका महिलाहरूको चहलपहल शहरकै आकर्षण बनेको छ।
“हामी तीजकै दिन गाउँमा दर खाने चलन थियो। तर शहरमा तीज आउनु अघि नै साथीभाइ भेटिन्छौं, रमाइलो गर्छौं भन्ने संस्कार बसिसक्यो,” हेटौंडा–४ की मानकुमारी पुडासैनी बताउँछिन् ।

तीजलाई महिलाहरूबीचको भेटघाट, आपसी सम्बन्ध विस्तार गर्ने अवसरको रूपमा लिइने गरिन्छ। घरधन्दा, व्यावसायिक काम र दैनिक व्यस्तताबीच समय निकालेर एउटै छातामुनि जम्मा भएर गीत–संगीत, नाचगान र भोजमा रमाउनु महिलाहरूका लागि स्वतन्त्रता र खुशीको क्षण बन्न पुगेको छ।

शहरका पार्टी प्यालेस बुक

हेटौंडामा रहेका आधा दर्जन पाटी प्यालेसहरु बुक भएका छन् । तिजका धेरैजसो कार्यक्रम पार्टी प्यालेसमा गरिदै आएको छ । बिशेषगरी हेटौंडा–१ चौकीटोलमा रहेको पार्टी प्यालेसमा धेरै चहलपहल बढेको छ । यसैगरी हेटौंडा सामुदायिक हलदेखि लिएर टोल विकास संस्थाका आफ्नै भवनसम्म यी दिनहरू दर खाने कार्यक्रममा व्यस्त छन्। अधिकांश पार्टी प्यालेस र हलहरू साउनको अन्त्यदेखि भदौको पहिलो हप्तासम्मका लागि बुक भएको सञ्चालकहरू बताउँछन्।

“अघिल्ला वर्षहरूमा एकै हप्ता अगाडि मात्र कार्यक्रम हुन्थ्यो। यसपटक त करिब दुई साताअघि देखिनै दर खाने बुकिङ सुरु भयो। दिनमा दुई–तीनवटा कार्यक्रम समेत पर्छन्,” पार्टी प्यालेसका एक सञ्चालकले भने।

संगीत, नाचगान र महिलाको उत्साह

दर खाने कार्यक्रममा महिलाहरूको जोश र उत्साह विशेष देखिन्छ। कोही पुराना तीज गीत गाउँछन्, कोही आधुनिक धुनमा नाच्छन्। हातमा माइक्रोफोन लिएर नाचगान गर्ने महिलाहरूको भिडमा माहोल झन् चञ्चल हुन्छ।

“तीज भनेको केवल दर खाने होइन, हामी महिलाहरूको स्वतन्त्रता, खुशी र मेलमिलापको चाड हो। यतिबेला त सबै चिन्ता बिर्सिन्छौं,” हेटौंडा–२ की शिक्षिका विमला कार्कीले भनिन्।

कार्यक्रममा उपस्थित महिलाहरूलाई होटलले विशेष खानपानको व्यवस्था गरेको हुन्छ। माछामासु, मिष्टान्नदेखि लिएर परिकारको थुप्रै विकल्प पाइन्छ। परम्परागत ‘दर’ भने छुट्दैन।

बजारमा किनमेलको भीड

तीज नजिकिँदै गर्दा हेटौंडा बजारमा कपडा, गहना र सौन्दर्य सामग्री किन्ने महिलाको भीड बढेको छ। हेटौंडा चोक, बसपार्क र बुद्धचोक आसपासका पसलहरूमा महिलाहरू विशेष गरी रातो रङका कपडाहरू रोजिरहेका देखिन्छन्।

“हरेक वर्षजस्तै यसपटक पनि तीज सुरु हुनासाथ बिक्री बढेको छ। विशेष गरी सारी, कुर्ता र चुरा बढी मागमा छन्,” हेटौंडा चोकका कपडा व्यवसायी पुस्प यादवले बताए।

सौन्दर्य पार्लर र हेयर–स्टाइलिङ सेन्टरहरू पनि महिलाले भरिएका छन्। “दर खाने कार्यक्रममा जाँदा सबैभन्दा राम्री देखिनुपर्ने चाहना हुन्छ। त्यसैले पार्लरमा भीड बढेको छ,” हेटौंडा–४ की पार्लर सञ्चालिका स्मृति खड्काले भनिन्।

गाउँ र शहरको भिन्नता

मकवानपुरका ग्रामीण बस्तीमा अझै पनि तीजकै दिन दर खाने चलन छ। गाउँका महिलाहरूले खेतबारीको काम सकेर, घरायसी दायित्व पुरा गरेर मात्रै दर खाने अवसर पाउँछन्। तर शहरमा भने दर खाने दिनलाई फरक रूपमा अर्थ्याइन्छ।
हेटौंडामा तीज आउनु अघि नै महिलाले समय निकालेर रमाइलो गर्ने संस्कार बसिसकेको छ। यसले शहरका महिलालाई आत्मीयता र सामाजिक सम्बन्धमा मजबुत बनाएको छ।

सामाजिक एकता र महिला सशक्तिकरण

दर खाने कार्यक्रमले केवल चाडपर्वको रमाइलो मात्र होइन, सामाजिक सन्देश पनि दिन थालेको छ। संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा महिला सशक्तिकरण, लैङ्गिक समानता, शिक्षाको महत्व जस्ता विषयमा समेत छलफल हुने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*