हेटौंडामा दैनिक उपभोग्य तरकारीको भाउ महँगियो

जनपत्र
१ भाद्र २०८२, आईतवार ०७:४८

हेटौंडा । चाडपर्व नजिकिएसँगै हेटौंडाको तरकारी बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो एक महिनामा हरियो तरकारीको भाउ निकै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ भने खुद्रा त झन् छोइसक्नु छैन ।

उपभोक्ताको भान्सामा दैनिक चाहिने बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, टमाटर, काँक्रोलगायतका तरकारीको मूल्यमा उच्च वृद्धि भएको हेटौंडाको खोपेगल्लीका व्यावसायी श्याम महतो बताउँछन् । उत्पादन स्थल र थोक बिक्रेतालेनै महँगो भएकाले हेटौंडासम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।

हेटौंडा–१ चौकिटोलमा रहेको तरकारी थोक बजारमा धेरै तरकारी मकवानपुरको पालुङ, हाँडीखोला, चितवन र तराइका जिल्लाबाट आउने गरेको र अहिले धान रोपाइँपछि तरकारी आउन छोडेकाले तरकारीको भाउ बढेको हाँडीखोलाका तरकारी उत्पादक किसान श्याम घिमिरे बताउँछन् । ती ठाउँमा तत्काल आउने तरकारी नभएकाले असोज कात्तिकसम्म नै यही अवस्था रहने पनि उहाँको भनाइ छ ।

तरकारीको मूल्य बढ्नुमा नियमनको पनि समस्या रहेको छ । व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गर्ने गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार पाएका निकाय पनि मौन अवस्थामा छन् । उनीहरुले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*