बागमतीमा मुख्यमन्त्री लामाले आज राजिनामा दिदै, नयाँ नेतृत्वको ढोका खुल्दै

जनपत्र
१९ श्रावण २०८२, आईतवार १३:१३

हेटौंडा १८, साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। लामो समयदेखि दलभित्रको दबाब र शीर्ष नेताहरूको छलफलपछि उनले पदबाट अलग हुने निर्णय गरेका हुन्। उनले आजै प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

हाल उपचाररत प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा काठमाडौंमा रहेका कारण राजीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिनेछ।

मुख्यमन्त्री लामाले राजीनामा दिनुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक राखेका छन्। बैठकपछि पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा राजीनामा बुझाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

बानियाँका लागि मार्ग खुला

मुख्यमन्त्री लामा पदबाट हटेपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने छ। नेपाली कांग्रेस संसदीय दलको नेतामा हालै निर्वाचित इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन दलभित्र सहमति बनिसकेको छ। प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएलगत्तै नयाँ सरकार गठनको आह्वान गर्ने तयारी छ।

बानियाँ बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री बन्ने पक्का देखिएको छ। यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मकट्टेल र बहादुरसिंह लामाले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्।

पार्टी भित्रको सहमतिबाट लामा पछि हट्ने निर्णयमा

संसदीय दलको नेतामा पराजित भएपछि लामालाई सत्ताबाट हटाउने दबाब तीव्र बनेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पहलमा सहमति जुटाउँदै, लामा अन्ततः राजीनामा दिन तयार भएका हुन्।

शनिबार बिहान बुढानीलकण्ठमा भएको छलफलमा लामा र बानियाँबीच सहमति जुटेको थियो। छलफलमा सहभागी कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार लामाले दुई सर्त राखेका थिए — आफूले नियुक्त गरेका तीन मन्त्रीलाई नयाँ सरकारमा सामेल गराउने र आफ्नो समूहसँग सहकार्य गर्ने। बानियाँ ती सर्तमा सहमत भएपछि लामाले पदबाट हट्ने निर्णय गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*