बागमती प्रदेशमा नियुक्त भएका अभागी तीन मन्त्री, शपथग्रहण फेरि स्थगित
हेटौंडा — बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रम फेरि स्थगित गरिएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि रोकिएको हो।
यसअघि बुधबार पनि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण र एमालेका नेताहरुको आग्रहका कारण मन्त्रीहरूको शपथग्रहण स्थगित भएको थियो। दुई दिनदेखि तयारी गरिएको भए पनि मन्त्री बन्ने तीन नेताले अझै शपथ खान पाएका छैनन्। अब शपथग्रहण कहिले हुने भन्ने टुंगो लागेको छैन।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार आन्तरिक तथा कानुन, सहकारी तथा गरिबी निवारण, र युवा तथा खेलकुद मन्त्रालयका लागि गरेका नियुक्तिहरूको शपथ प्रदेश प्रमुखको कार्यालयमा हुने भनिएको थियो। तर देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि कार्यक्रम स्थगित गरिएको हो।
नवनियुक्त मन्त्रीहरूमा गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठ रहेका छन्। तीनैजना नेपाली कांग्रेसका नेता हुन्। लम्साल पार्टी संसदीय दलका प्रमुख सचेतक हुन् भने गुरुङ सचेतक थिइन्। लम्साल धादिङबाट तथा गुरुङ र श्रेष्ठ चितवनबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
मुख्यमन्त्री लामाले लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। नेपाली कांग्रेसका पाँच मन्त्रीहरूले राजीनामा दिएपछि ती मन्त्रालयहरू लामो समयदेखि मन्त्रीविहीन थिए।
यता, मुख्यमन्त्री लामा भने आफ्नो पदको रक्षामा अडिग छन्। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि कांग्रेसका बहुमत सांसदहरूले लामालाई राजीनामा दिन दबाब दिइरहेका छन्। तर लामा भने संसदीय दलको नेता नरहे पनि मुख्यमन्त्री पद नछाड्ने अडानमा छन्।








